डिआइजी थापा सर्वोच्चमा

Parvati-Thapaकाठमाडौं : सरकारले उपेन्द्रकान्त अर्याललाई एआइजीमा बढुवा गरेपछि असन्तुष्ट बनेकी डिआइजी पार्वती थापा उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी छन् ।
डिआइजी थापाले अर्याल बढुवाको निर्णयविरुद्ध बिहीबार सर्वोच्चमा रिट दायर गरेकी छन् । थापाले रिटमा अर्याल आफूभन्दा कनिष्ठ भएको आरोप लगाउँदै पहुँच र प्रभावका आधारमा उनको बढुवा भएको जिकिर गरेकी छन् । रिटमा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । थापाले रिटमा आफूलाई एआइजीमा बढुवा गर्न अन्तरिम आदेशको मागसमेत गरेकी छन् । १४ कात्तिकमा सरकारले अर्याललाई एआइजीमा बढुवाको निर्णय गरेलगत्तै महिला अधिकारकर्मीले त्यसको विरोध गरेका थिए । थापाले पनि अर्याल बढुवाविरुद्ध सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
०६५ सालमा पार्वती थापा र विमला थापामगरलाई सरकारले महिलाका लागि भनेर विशेष कोटा सिर्जना गरेर डिआइजीमा बढुवा गरेको थियो । ११ मंसिरसम्म बढुवा नभए उनीहरू स्वत: निवृत्त हुनेछन् । त्यसैले आºनो आयु बढाउन पार्वतीले चलखेल गरेको प्रहरी स्रोतको दाबी छ । आइजिपी कुबेरसिंह रानासहित अन्य ५ एआइजीले २९ कात्तिकदेखि अवकाश पाउँदै छन् । त्यसलगत्तै एआइजी अर्याल प्रहरी प्रमुख बन्ने लगभग पक्का छ । तर, प्रहरी नियमावलीमा सरकारले योग्यता पुगेका जोसुकै डिआइजीलाई एआइजीमा बढुवा गर्न सक्ने प्रावधान स्पष्ट भएकाले कनिष्ठ वा वरिष्ठको विषय औचित्यहीन भएको प्रहरी स्रोत बताउँछ । (सौस)

प्रतिक्रिया