अब कोइराला, देउवा र थापा हेलिकप्टर चढ्ने

helicoptorकाठमाडौं, २१ कात्तिक । निर्वाचन आयोगले कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका शीर्ष नेताहरुलाई चुनावी कार्यक्रमका लागि हेलिकप्टर चढ्न पूर्वस्वीकृति प्रदान गरेको जनाएको छ ।

मंसिर ४ मा हुने संविधानसभा सदस्य निर्वाचनका लागि कांग्रेस र राप्रपा नेपालका नेताहरुले हेलिकप्टर चढ्न अनुमति माग गरे पछि सहमति प्रदान गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले कांग्रेस सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई हेलिकप्टर चढ्न स्वीकृति प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक–२७ गते चुनावी कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस सभापति कोइरालाले संखुवासभा जाने कार्यक्रम छ । त्यसका लागि उनले हेलिकप्टर चढ्न आयोगसँग पूर्व स्वीकृति माग गरेका हुन् ।

त्यसै गरी, कांग्रेसकै नेता देउवाले पनि कात्तिक २५ र २६ गते डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम जानका लागि हेलिकप्टर चढ्न अनुमति माग गरेका छन् । उनले पनि पूर्वस्वीकृति पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि चुनावी कार्यक्रमका लागि हेलिकप्टर चढ्न अनुमति माग गरेका छन् । उनले कात्तिक २३ गते जाजरकोट, दैलेख र सल्यान जान अनुमति माग गरेको आयोगले जनाएको छ ।

यस अघि, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई, एमाले नेता केपी ओलीलगायतले चुनावी कार्यक्रममा जानका लागि हेलिकप्टर प्रयोग गरीसकेका छन् । अध्यक्ष दाहालले निर्वाचन आचार संहिता विपरीत हेलिकप्टर चढेको भन्दै आलोचना समेत भएको थियो ।

प्रतिक्रिया