‘कानून उल्लंघन गर्न थाले कारवाही गर्छौं’

Madhav-Poudel-Ministerकाठमाडौं, १८ कात्तिक । सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले कानून उल्लंघन हुने गरी बहिस्कार भए सरकारले कारवाही गर्ने चेतावनी दिएका छन् ।

राजधानीमा आज (सोमबार) पत्रकारसँग कुरागर्दै मन्त्री पौडेलले कानून उल्लंघन गर्ने जो कोहीलाई कारबाही गरिने बताए । ‘बहिस्कार शान्तिपूर्ण हुन्जेलसम्म सरकारले केही गर्दैन,’ उनले भने, ‘कानून उल्लंघन गर्न थाले कारवाही गर्छौं ।’

उनले नेकपा–माओवादीलाई निर्वाचनमा असर पर्ने गरेर गतिविधि नगर्न आग्रह गरे । ‘म सँगको अनौपचारिक कुराकानीमा नेकपा–माओवादीले बहिस्कार शान्तिपूर्ण हुन्छ भनेका छन्,’ उनले भने ।

मन्त्री पौडेलले चुनाव नारोकिने दोर्‍याए । ‘लामो प्रक्रिया पुरा गरेर निर्वाचनको अभियान यहाँसम्म आईपुगेको छ,’ उनले भने, ‘निर्वाचन सार्न सकिँदैन ।’

उनले केही छिटफुट घटनालाई लिएर निर्वाचन माथि अनावश्यक आशंका नगर्न आग्रह गरे । ‘निर्वाचनमा उमेदवार र पार्टीहरुले हजारौ सवारी साधन प्रयोग गरेका छन्,’ उनले भने, ‘छिटफुट गाडी माथि आक्रमण भएको घटनालाई लिएर सुरक्षाको विषयमा प्रश्न उठाउनु जायज छैन ।’

मन्त्री पौडेलले निर्वाचन सम्पन्न गरेर मात्रै नेपाली सेना व्यारेक फिर्ता हुने बताए । ‘नेपाली सेनाले निर्वाचनमा सुरक्षा गर्न सक्दैन भनेर सरकारमा कुनै प्रतिवेदन आएको छैन,’ उनले भने ।

प्रतिक्रिया