स्याङ्जा आलमदेवीमा कालीगण्डकी बग्न सुरु

Kaligandaki

कालीगण्डकी नदी

पाल्पा, १६ कात्तिक । पहिरोले थुनिए पछि ताल बनेको स्याङ्जाको आलमदेवीस्थित कालीगण्डकी नदीमा पानी बग्न थालेको छ । कालीगण्डकी र पहिरोका कारण जनधनको क्षति हुने त्रासले प्रहरीले स्थानीयलाई सचेत समेत गराएको छ ।

पहिरोका कारण आज (शनबार) करिव दुई घण्टा कालीगण्डकी नदी थुनिएको हो । थुनिएको कालीगण्डकीले आफै बाटो बनाएर बग्न थालेको छ । विर्घा–कोटाकोट सडकखण्ड अन्तर्गत आलमदेवी–५ मा रहेको मोटरबाटो माथीबाट खसेको धुले पहिरोले कालीगण्डकी थुनिएको थियो ।

पानीको वहावसँगै कालीगण्डकी बग्न थालेको विर्घा प्रहरी चौकीका सहायक निरीक्षक विष्णुप्रसाद खनालले जानकारी दिए । खनालका अनुसार पहिरो रोकिएको छैन् । ‘तालको रुपमा जम्मा भएको पानीले बाटो बनाईसकेको छ,’ प्रहरी सहायक निरीक्षक खनालले भने, ‘पहिरो भने अझैपनि रोकिएको छैन् । स्थलगत प्रकृति हेर्दा धुले पहिरो अझै पनि झर्न सक्छ ।’

सो क्षेत्रका नागरिकलाई प्रहरीले सर्तक रहन आग्रह समेत गरेको छ । कालीगण्डकीमा वर्षायाम सामान्य पहिरो खस्ने गरेको थियो । यद्यपि हालसम्मकै ठूलो पहिरो खसेकाले खतरा उत्पन्न भएको प्रहरी भनाई छ ।

विहान करिव साढे ९ बजेबाट ११ वजेसम्म झरेको पहिरोले नदी पूर्ण रुपमा थुनिएको थियो । पहिरो निरन्तर झरिरहे नदी एक्कासि फुटेर स्याङ्जाको आलमदेवी गाविसका वडा नम्बर ७, कोटाकोट, कारीकोट, चन्डिभञ्ज्याङ्ग गाविसका वडा नम्बर ४, ५ र ८, श्रीकृष्ण गण्डकी गाविसका केही वडा, पाल्पाको अर्गली, वौघापोखराथोक, गुल्मीको रुरु, रुद्रवेणी, ठूलोलुम्पेक गाविसका अस्लेवा, चेहेमी, पाहादीलगायतका ठाउँमा क्षति पुर्‍याउन सक्ने स्थानीयको भनाई छ ।

वर्षायामबाट झर्न थालेको पहिरो करिव ४ महिना हुँदा सम्म रोकिएको छैन । पहिरोको शिरमा आलदेवीको मन्दिर पर्ने भएकाले कतिपयले धार्मिक परम्परा ख्याल नगर्दा पहिरो खसेको हुन सक्ने अनुमान गरेका छन् ।

धुले पहिरो रोक्नका लागि मन्दिरमा पञ्चवली दिनुका साथै धार्मिकअनुष्ठान पनि गरिएको जनता उच्च मावि विर्घाका शिक्षक डोलराज पाण्डेले बताए । कतिपयले सोही पहिरोको ठीक पारी कालीगण्डकी तिरमा मोटर बाटो खन्ने क्रममा प्रयोग गरिएको बमको प्रभावले पहिरो गएको हुन सक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया