‘माओवादीलाई रोक्ने एमाले र एमाओवादी’

Sher-Bahadur-Deubaधनगढी, १४ कात्तिक । नेपाली कांग्रेस नेता शेरबहादुर देउवा नेकपा–माओवादीलाई चुनावमा ल्याउन धेरै पहल भए पनि एकीकृत माओवादी र एमालेले अबरोध गरेको आरोप लगाएका छन् ।

कैलालीको क्षेत्र नम्बर ६ मा चुनावी प्रचार प्रसारका क्रममा आज (शुक्रबार) आयोजित कार्यक्रमहरुमा नेता देउवाले एकीकृत माओवादी र एमालेका कारण नेकपा–माओवादी चुनावमा सहभागी हुन नसकेको बताए ।

‘मिति सारेर नेकपा–माओवादीलाई सहभागी गराउन गरेको प्रस्ताव एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालले मानेन्,’ उनले भने, ‘अब मुलुक चुनावी माहोलमा गई सकेकाले निर्धारित समयमा चुनाव हुन्छ ।’

एकीकृत माओवादीका नेता समेत रहेका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले आयु रहेको संविधानसभा विघठन गरेर नयाँ संविधान बन्न नदिएको उनले बताए । उनले भने, ‘संविधानसभाको म्याद बढाएर संविधान बनाउन भन्दा बाबुराम भट्टराईले मध्यराति चुनाव घोषणा गरेर नयाँ संविधान बन्न दिएनन् ।’

देशभरि कांग्रेसप्रति जनलहर देखिएको नेता देउवाले बताए । ‘यस पटकको चुनावमा कांग्रेसले बहुमत ल्याई एक वर्ष भित्र नयाँ संविधान जारी गर्छ,’ उनले भने, ‘अघिल्लो चुनावमा कम्युनिष्टको बहुमत भएकाले नयाँ संविधान बनाउन सकेनन् ।’

हाल सम्मका सबै आन्दोलनको नेतृत्व कांग्रेसले गर्दै आएको स्मरण गरेका नेता देउवाले भने, ‘प्रजातान्त्रिक पार्टी कांग्रेसले मात्रै नयाँ संविधान बनाउँछ ।’

कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले कम्युनिष्टहरुले कहिल्यै निर्माण गर्न नजानेको बताए । ‘कम्युनिष्टहरुले गरिवलाई कहिल्यै धनी हुन दिँदैनन्,’ उनले भने, ‘जताततै ध्वंस गरेर आतंक मच्याउने कार्य मात्रै गर्छन् ।’

नेता देउवा गृह जिल्ला डडेल्धुरा र कैलालीको क्षेत्र नम्वर ६ बाट प्रत्यक्ष तर्फका उम्मेदवार हुन् । डडेल्धुरामा चुनावी प्रचार प्रसार सकेर उनी कैलाली आएका हुन् ।

प्रतिक्रिया