अलबिदा जगदीश

jagadish-ghimire-2

जगदीश घिमिरे

काठमाडौं, १५ कात्तिक । ‘०३० देखि ०६३ सालसम्म माथिमाथि उक्लिँदै गएको थिएँ । कतै ओर्लिनुपरेन । ०६३ सालमा म यसरी ओर्लिएँ पातालै पुगेँ । मलाई मल्टिपल माइलोमा क्यान्सर भएको छ भनियो । बिसेक हुने/नहुने थाहा थिएन । बारम्बार बल्झिरहन्छ, औषधोपचार गरेर घटाइरहनुपर्छ भनेका थिए, डाक्टरहरूले ।’ गत डेढ वर्षयता यति जोडसँग बल्झियो, कुनै पनि केमोथेरापीले मलाई काम गर्न सकिरहेको छैन । तर, डाक्टरहरूले प्रयत्न छाडेका छैनन्,’ जगदीश घिमिरे

केही समयअघि एउटा पत्रिकालाई घिमिरेले यसो भन्दै अन्तर्वार्ता दिएका थिए । उनले रोगसँग लड्न निकै मिहिनेत गरे । तर, आज उनलाई कालले चटक्कै चुँडेर लग्यो । उनले माइलोमासँग हार खाए र आºनो देहलीला समाप्त गरे । डाक्टरको प्रयत्नले पनि माइलोमालाई लछारपछार गर्न सकेन र अन्तत: साहित्यकार घिमिरे यस धर्तीबाट बिदा भए । रामेछाप जिल्लाको मन्थलीमा २००२ साल चैत २८ गते जन्मिएका घिमिरे जीवन र मृत्युलाई लठ्ठीका टुई टुप्पाको संज्ञा दिन्थे । ‘लठ्ठीको एउटा टुप्पो उचाल्नुभयो भने अर्को टुप्पो आफँै उचालिन्छ । जीवन र मृत्यु भनेको लठ्ठीका दुई टुप्पा हुन्,’ घिमिरेको यो भनाइ जीवनसँग हार खाएकाहरूका लागि त्यत्तिकै प्रेरणादायी बनेको छ ।
प्रारम्भिक शिक्षा नेपालबाट र उच्च शिक्षा भारत र ब्रिटेनबाट प्राप्त गरेका घिमिरे सानैदेखि साहित्य र पत्रकारिताप्रति रुचि राख्थे । समाजशास्त्रमा एमए र जनसंख्यामा स्नातक गरेका उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा लामो समय संलग्न थिए । घिमिरेले समाजसेवाका क्षेत्रमा पनि योगदान गरेका छन् । रामेछाप जिल्लाको मन्थलीमा सामुदायिक विकास र सामाजिक उत्थानको कार्यमा उनले पुर्‍याएको योगदानको अहिले पनि प्रशंसा हुने गर्छ । सामाजिक कार्यमा उनकी पत्नी दुर्गाको पनि उत्तिकै साथ रहेको देखिन्छ । ०४६ सालताका घिमिरे दम्पतीले मन्थलीमा स्थापना गरेको तामाकोसी सेवा समिति अहिले चर्चाको शिखरमा छ । उक्त समितिकै नाममा मन्थलीमा अस्पताल, सहकारी, खानेपानीलगायत परियोजना सञ्चालनमा छन् । आफूलाई लागेको क्यान्सर रोग र त्यसको पीडालाई उनले पुस्तकमा पनि समेट्ने प्रयत्न गरे ।
घिमिरेले लेखेको ‘अन्तरमनको यात्रा’ पाठकले रुचाउने पुस्तकमध्येमा पर्छ । उनको ‘सकस’ नामक उपन्यास पनि उत्तिकै लोकप्रिय छ । अन्तरमनको यात्राले मदन पुरस्कारसमेत प्राप्त गर्न सफल भएको थियो । रोगले थलिएपछि पनि घिमिरेको साहित्यिक सिर्जना र सामाजिक विकासको अभियान मृत्युशय्यामा जाने बेलासम्म पनि जारी रह्यो । ‘लक्ष्य छैन भने जीवन पनि छैन’ भन्ने मूलमन्त्रलाई आदर्श मान्ने साहित्यकार घिमिरेको पहिलो उपन्यास ‘लिलाम’ हो । ६८ वर्षको उमेरमा बिहीबार बिहान काठमाडौंको ओम अस्पतालमा चिकित्सकले घिमिरेलाई मृत घोषित गरेका थिए । बिहीबार नै काठमाडौंको पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरियो । घिमिरेका श्रीमती, एक पुत्र हिमाल र एक पुत्री जुन छन् ।
घिमिरेका कृति
लिलाम ‘उपन्यास, वि.सं. ०२७, जगदीशका कथाहरू ‘कथासंग्रह, वि.सं. २०७० साविती ‘उपन्यास, वि.सं. ०३२, केही कथा कविता र संस्मरण ‘विविध, वि.सं. ०३४, सन्तान ‘नाटक, ‘उपन्यास, वि.सं. ०३५ अन्तरमनको यात्रा ‘आत्मकथा, ‘उपन्यास, वि.सं. ०६४ अग्निसूत्र ‘कविता, ‘उपन्यास, वि.सं. ०६५ स्थान कालपात्र ‘विविध र गद्य, ‘उपन्यास, वि.सं. ०६६ सकस ‘महाख्यान, ‘उपन्यास, वि.सं. ०६९ प्रकाशोन्मुख कृतिहरू: बर्दी ‘रोजा कथाहरू’ चेतना भया ‘रोजा राजनीतिक टिप्पणीहरू‘ छ्यासमिस ‘रोजा लेख र अन्तर्वार्ताहरू’ सम्पादित, अनूदित र फुटकर कृति नेपाली, कवितायें (हिन्दी–संयुक्त सम्पादन विभिन्न पत्र–पत्रिकामा कथा, नाटक, लेख, निबन्ध प्रकाशित छन् ।

प्रतिक्रिया