मनाङ मस्र्याङ्दी फाइनलमा प्रवेश

manangपोखरा, १४ कात्तिक । नेपाली आर्मी क्लबलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब सफल पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । गत वर्ष आर्मीले नै फाइनलमा मनाङलाई हराएको थियो । यो हारको बदला मनाङले यस वर्ष लिइछाडेको छ । मनापोखरा रंगशालामा बुधबार भएको रोमान्चक खेलमा सब्सिच्युट खेलाडी विशाल राईले खेल सकिन २ मिनेट बाँकी छँदा गोल गरेपछि मनाङले आर्मीलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । त्यसअघि दीपक राईले मनाङलाई अग्रता दिलाउन आर्मीका राजु तामाङले बराबरी गोल फर्काएका थिए ।

त्यसअघि सुरुआतदेखि नै दुवै टिम आक्रमक बनेका थिए । चौँथो मिनेटमै दीपकले गरेको सशक्त प्रहार पोस्ट माथि गयो । लगत्तै आर्मीले पनि मनाङको पोस्टमा धावा बोल्यो । कर्नर बलमा सागर थापाले क्लियर गर्न नसकेपछि रिबाउन्डमा टेकबहादुर बुढाथोकीको हेडले पोस्टको दिशा लिन सकेन । १२ औँ मिनेटमा मनाङले अग्रता लियो । सागर थापाले दिएको क्रममा दीपकले गोल गर्दै मनाङलाई अग्रता दिलाए । २३ औँ मिनेटमा आर्मीको प्रयासमा मनाङका गोलकिपर विशाल श्रेष्ठ बाधक बने । कर्नर बललाई पन्च गरेका विशालले रिबाउन्डमा टंक बस्नेतले गरेको प्रहारलाई बचाउँदै टिमको संकट टारे । दुई मिनेटपछि दीपक राईले हानेको फ्रिकिकलाई आर्मीका गोलकिपर फूलमान लामाले सजिलै नियन्त्रणमा लिए ।
३३ औँ मिनेटमा आर्मीले गोल गर्दै खेललाई बराबरीमा ल्यायो । आफ्ना स्ट्राइकर भरत खवासलाई मनाङका डिफेन्डर मोबिल स्टेफिनले फाउल गरेपछि प्राप्त पेनाल्टी अवसरमा राजुले गोल गर्दै खेललाई १–१ बराबरीमा ल्याए । पहिलो हाफ हुन २ मिनेटअघि मनाङले खेलमा दोस्रो पटक अग्रता लिने अवसर गुमायो । सुजल श्रेष्ठले गरेको सुन्दर क्रसलाई आर्मीका गोलकिपर फूलमानले मुस्किलले बचाउँदै कुनै खतरा
हुन दिएनन् ।
दोस्रो हाफ सुरुभए लगत्तै दुवै टिमले विपक्षी टिमको पोस्टमा आक्रमण गरेपनि गोलपोस्टको दिशा दिन असफल भए । जसमा मनाङका सागर थापाको पासमा अनिल गुरुङले डिबक्सभित्रबाट गरेको प्रहार फितलो भयो । यस्तै, अनिलको पासमा सुलभ मास्केले गरेको अर्काे प्रहार पनि राम्रो हुन सकेन । दोस्रो हाफमा मैदानमा आएका सुलभले योना इंग्लिसलाई सब्सिच्युट गरेका थिए । मनाङले लगातार पोस्टमा आक्रमण गरे पनि पटक–पटक चुक्दा अग्रता लिन सफल भएन । ५५ मिनेटमा मनाङको अर्को प्रहार सफल हुन सकेन । सुजलको पहिलो प्रहारलाई आर्मीका गोलकिपर फूलमानले पन्च गरे । रिबाउन्डमा दीपकको प्रहारलाई पनि फूलमानले सफल
हुन दिएनन् ।
६०औँ मिनेटमा मनाङले दोस्रोपटक अग्रता लिने सुन्दर मौका खेर फाल्यो । आर्मीका गोलकिपर फूलमानसँग वान भर्सेस वानको अवस्थानमा सुजलको प्रहार बाहिरियो । तीन मिनेटपछि अनिलको प्रहारलाई पनि फूलमानले आफ्नो पन्जा लिँदै मनाङलाई अग्रता लिन दिएनन् । ७३ औँ मिनेटमा सुजलको पासमा शिव श्रेष्ठको प्रहार पनि आकासियो । लगातार पोस्टमा आक्रमण गर्दा पनि सफल हुन नसकेको मनाङलाई खेल सकिन २ मिनेट बाँकी छँदा विशालले गोल गर्दै ठूलो रहात दिए । अनिलको प्रहारलाई आर्मीका गोलकिपर फूलमानले पन्च गरेपछि प्राप्त बललाई रिबाउन्डमा जाली चुमाउँदै विशालले मनाङलाई फाइनलको यात्रा गराए । दोस्रो सेमिफाइनलमा बिहीबार
थ्रीस्टार क्लब र हङकङ नेपाली टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया