आर्थिक विकासका घोषणापत्र कागजमा सीमित नगर्न व्यवसायीको माग

काठमाडौं, १४ कात्तिक १३ । नीजि क्षेत्रका व्यबसायीहरुले राजनीतिक दलको घोषणापत्रमा व्यक्त गरिएका प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्न कठिनाई हुने गरेको बताएका छन् । मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले दलहरुले अघि सारेका घोषणापत्र जतिसुकै सुन्दर भएपनि कार्यान्वयनमा समस्या रहेको बताए । उनले घोषणापत्र अर्थमूखि बनाउन दलहरु सक्षम भएको तर त्यसलाई कार्यान्वयनको तहमा उतार्न दलहरु पछि पर्दै आएरहेको उल्लेख गरे । दलहरुले घोषणापत्रलाई भोट लिने माध्यम मात्रै बनाउन नहुने भन्दै घोषणापत्रमा समवेश भएका कुराहरुलाई कार्यान्वयन गर्न सकेमा देशको आर्थिक विकास सम्भव भएको उनको भनाई थियो । पाण्डेले नेपालमै प्रसस्त पैसा भएको तर लगानीको वातावरण नभएको उल्लेख गर्दै लगानीको वातावरण बनाउनु सबैभन्दा प्रमुख कुरा रहने उल्लेख गरे । त्यस्तै कार्यक्रममा नेपाल व्यापार संघका अध्यक्ष श्यामप्रसाद बजगाईले दलहरुका घोषणापत्र कार्यान्वयनमुखि भन्दा पनि देखावटि मात्रै भएको बताए । घोषणापत्रमा व्यक्त कतिपय कुराहरु सम्भव नै नभएको भन्दै दलहरुलाई लगानीको वातावरण र औधोगिकरणमुखि कार्यतर्फ ध्यान दिन बजगाईले अनुरोध गरे । त्यसैगरी हिमालय सिमापार वाणिज्य संघका बरिष्ठ सचिव भिम पौडेलले राजनीतिक पार्टीहरुले असम्भव कुरालाई पनि हुन्छ भनेर फोस्रा आश्वासन वाढ्ने गरेको भन्दै त्यसो नगर्न आग्रह गरे । घोषणापत्र बनाउँदा के कुरा लेख्दा जनताको मन तानिन्छ त्यही कुरा खोजि खोजि लेख्ने गरेको भन्दै आर्थिक विकासका लागि सम्भव हुने नितिहरु बनाउन पर्ने उनको भनाई थियो । कार्यक्रममा होटल संघ नेपालका कानूनी सल्लाहकार गान्धि पण्डीतले दलहरु चुनावी मिति नजिकिदा मात्रै विकासका कुरा गर्ने र अन्य समयमा सुस्ताउने पद्धतिले नेपालको आर्थिक विकास हुन नसकेको बताए । निर्यातजन्य बस्तु उत्पादनका लागि राज्यले लगानीको वातावरण बनाउन नसकेको उल्लेख गरे । चुनाव आएपछि पूराना घोषणापत्रलाई नयँँ बनाउने गरेको भन्दै दलहरुले समय अवधिमा गरिएका कामको विवरण अहिले सम्म पनि दिन नसकेको उनले बताए ।

प्रतिक्रिया