हावाहुरीबाट बालीनाली नष्ट

Dhanगोरखा : जिल्लाको उत्तरी गाविसमा सोमबार राति परेको असिना पानी र हावाहुरीबाट करिब पाँच सय हेक्टर क्षेत्रको बालीमा क्षति पुगेको छ । हावाहुरी र असिनापानीले आरुआर्वाङ, धावाा, तान्द्राङ तथा आरूपोखरीलगायत गाविसका पाँच सय हेक्टरमा लगाइएको बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय गोरखाले जनाएको छ ।

आरुआर्वाङको वडा नं ३, ४ र आरूपोखरी–९ मा लगाइएको धानबाली र कोदोमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् । यस्तै तान्द्राङ र धावा गाविसमा लगाएको धानबालीमा पनि क्षति पुगेको छ । धावा–९ र तान्द्राङ–१ मा लगाइएको धानबालीमा २० देखि ८० प्रतिशतसम्म क्षति पुगेको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले जानकारी दिए ।
असिना पानीले पुर्‍याएको क्षतिको स्थलगत अनुगमनका क्रममा हाइब्रिड र सावित्री जातको धानमा बढी क्षति पुगेको पाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यी धान काट्ने बेला भएकाले बढी क्षति पुगेको हो । असिनाले बाला झारेकाले क्षति बढी भएको पाइएको कृषि विकास अधिकृत कोइरालाको भनाई छ । त्यस्तै सो ठाउँको मास र कोदोमा पनि क्षति पुगेको जिल्ला कृषि विकास कार्यालययले जनाएको छ । हावाहुरीका कारण आरुआरवाङ गाविसस्थित इन्द्रकन्या माविको दुईकोठे भवन भत्केपछि विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएको छ । (सौस)

प्रतिक्रिया