गोरखामा आठ हजार पर्यटक भित्रिए

गोरखा : चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा आठ हजार एक सय ३८ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन् । साउनमा तीन हजार दुई सय ३०, भदौमा दुई हजार पाँच सय १५ र असोजमा दुई हजार तीन सय ८३ जनाले सङ्ग्रहालयको अवलोकन गरेको छ । सो मध्ये तीन हजार नौ सय ५ नेपाली विद्यार्थी, चार हजार ५१ अन्य नेपाली, सार्क राष्ट्रका आठ र अन्य देशका एक सय ४ पर्यटक रहेको सङ्ग्रहालय प्रमुख करुणा राईले जानकारी दिए ।

सङ्ग्रहालय घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट मात्रै तीन महिनामा करिब ६० हजार राजस्व सङ्कलन भएको सङ्ग्रहालयले जनाएको छ । नेपाली विद्यार्थी, अन्य नेपाली, सार्क र अन्य राष्ट्रका पर्यटकसाग सङ्ग्रहालयले प्रवेश टिकटमा फरक फरक शुल्क लिइदै आएको छ । हिउँदसँगै शैक्षिक भ्रमणको याम सुरु भएकाले अब शैक्षिक भ्रमण आउनेको सङ्ख्या अझै बढ्ने सङ्ग्रहालयले जनाएको छ ।
सङ्ग्रहालयमा राखिएको शाहवंशीय इतिहास झल्कने सामग्री, पुराना हातहतियार, भाँडाकुँडालगायत जिल्लाका सांस्कृतिक परिचय झल्कने सामग्री पर्यटकको आकर्षणको केन्द्र रहेका छन् । सङ्ग्रहालय ग्यालरीमा यस वर्ष २५ तस्बिर थप गरिएको छ । यसैबीच गोरखाबाट शैक्षिक भ्रमण जानका लागि २५ विद्यालयले अनुमति लिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । (सौस)

प्रतिक्रिया