कसले लगायो आगो ?

नेपालगन्ज : निर्वाचन प्रचारप्रसारका लागि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रयोग गरिहेको गाडीमा पनि सोमबार बिहान १०:४५ बजे आगजनी गरिएको छ ।
नेपालगन्ज–१३ स्थित नेपाली कांग्रेस कार्यालयबाहिर रोकेर राखेको भे १ च ९१७ नं को ‘स्र्कोपियो’ गाडीको पछाडिको पाङ्ग्रामा दुई जनाको समूहमा आएका ब्यक्तिले आगो लगाएर भागेका थिए । आगजनीबाट गाडीको पछाडिको पांग्रा जलेको र झयालका सिसा चर्केको प्रचार समितिका सदस्य उमा थापामगरले जानकारी दिइन् । स्थानीयवासी विनोद न्यौपानेको सो गाडी निर्वाचन प्रयोजनका लागि सभापति कोइरालाले प्रयोग गरेका थिए । सभापति कोइराला बाँके जिल्ला क्षेत्र नं ३ बाट संविधानसभा सदस्यका उम्मेदवार हुन् ।
त्यसैगरी काठमाडौं क्षेत्र नं ५ का नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवार नरहरि आचार्यको गाडीमा सोमबार अपरिचित व्यक्तिले आगो लगाइदिएका छन् । धापासी वडा नं ६ स्थित कृष्ण मन्दिरनजिक पार्किङ गरी राखिएको बा ६ च ४१९ नम्बरको गाडीमा अपरिचित व्यक्तिले पेट्रोल छर्की आगो लगाएको आचार्यले बताए ।
श्री टोलबाट मन्दिर पुग्ने क्रममा गाडी रोकेर आचार्यसहितको टोली पदयात्रामा निस्केको बेला मोटरसाइकलमा आएका दुई जनाले आगजनी गरेको आचार्यले बताए । सोमबार बिहान ९:३० बजे गाडीमा आगजनी गरिएको हो । धापासी गाविसनजिकै रहेको सम्पर्क कार्यालयमा पनि पार्टीको झन्डा, बोर्डहरू तोडफोड गरी क्षति पुर्‍याएको आचार्यले जानकारी दिए । (सौस)

प्रतिक्रिया