यवस्थापकीय त्रुटिले मोबाइल सेवा अवरुद्ध : प्रतिवेदन

काठमाडौं, १२ कात्तिक । गत असोज १२ गते नेपाल टेलिकमको मोबाइल सेवा अचानक बन्द भएको सन्दर्भमा गठित छानबिन समितिले व्यवस्थापकीय त्रुटि भएको निष्कर्ष निकालेको छ ।

नेपाल दूरसञ्चार संस्थानका पूर्वमहाप्रबन्धक सुरेशकुमार पुडासैनीको संयोजकत्वमा गठित सो समितिले सुन्धारा र बबरमहलको बीचमा रहेको अप्टिकल फाइबर काटिएकाले मोबाइल सेवा अवरुद्ध भएको प्रतिवेदनमा उल्लेख गरेको छ । समितिले सोमवार सो प्रतिवेदन सञ्चारमन्त्री माधव पौडेललाई बुझायो । तर, सो तार कसरी काटियो भन्ने विषयमा भने प्रतिवेदनमा उल्लेख छैन । ‘काटिने काम मुसाबाट पनि हुन सक्छ, मानिसले पनि हुन सक्छ तर यसो हेर्दा मानिसले गरेको देखिएन मुसाले गरेको जस्तो देखियो, कुनै बदनीयत भएको देखिएन,’ संयोजक पुडासैनीले सञ्चार मन्त्रालयमा पत्रकारसँग भने । गत असोज १२ गते बिहान ५ बजेदेखी झण्डै पाँच घन्टा मोबाइल सेवा अवरुद्ध भएको थियो । पुडासैनीका अनुसार २४ घन्टा खटिने कर्मचारीको अभावका कारण सो घटना भएको हो ।
यस्ता घटना दोहोरिन नदिन दोषीलाई विभागीय कारबाहीको लागि प्रतिवेदनमा सुझाव दिइएको छ । दूरसञ्चार सेवामा देखिएको प्रतिस्पर्धाको पृष्ठभूमिमा उक्त घटनामा कुनै बदनीयत भए नभएको कारण पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना हुन नदिन के कस्ता सुधार आवश्यक छ भन्ने सुझाव दिन समितिलाई भनिएको थियो । सो समितिमा प्रधानमन्त्री कार्यालयका सहसचिव महेन्द्रकुमार थापा र सञ्चार मन्त्रालयका उपसचिव गौरव गिरी सदस्य थिए । प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यसप्रकारको छानबिनले दूरसञ्चारका सेवामा भविष्यमा मानवीय वा अन्य कमजोरी हुन नसक्ने तर्क गरे ।

प्रतिक्रिया