कोइराला र आचार्यको गाडीमा आगजनी

Sushil-koirala,-chitwan-(2)

काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं बाँके क्षेत्र नम्बर ३ का प्रत्यक्ष तर्फका उम्मेदवार सुशील कोइरालाले चुनाव प्रचार प्रसारमा प्रयोग गरिएको गाडीमा आगजनी भएको छ ।

नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको कांग्रेसको पार्टी कार्यालयमा आज (सोमबार) भे १ च ९१७ नम्वरको गाडीमा अपरिचित समूहले आगो लगाएको हो । प्रहरीले गाडीमा आगजनी गर्ने समूहको खोजतलास सुरु गरेको जनाएको छ ।

कांग्रेस बाँकेका सभापति डा.अरुण कोइरालाका अनुसार मुख छोपेर आएका दुई जना व्यक्तिको समूहले गाडीको टायरमा पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।

आगजनीबाट गाडीमा क्षति पुगेको छ । प्रचार प्रसारमा प्रयोग गरिएको गाडीमा आगजनी भएको घटनाको कांग्रेसले विरोध जनाएको छ । कांग्रेसले दोषीलाई पक्राउ गरेर कारबाहीको माग पनि गरेको छ ।

यसैबीच, काठमाडौं क्षेत्र नम्बर ५ का कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार नरहरि आचार्यको गाडीमा पनि अपरिचित समूहले आगो लगाई दिएका छन् ।

चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम गर्दै धापासी गाविस वडा नम्बर ६ पुगेका कांग्रेस उम्मेदवार आचार्यको बा. ६ च ४१९ नम्वरको गाडीमा आज (सोमबार) विहान अपरिचित व्यक्तिहरुले आगो लगाइदिएका हुन् । गाडी कृष्ण मन्दिर नजिक पार्किङ गरी राखिएको थियो ।

मोटरसाईकलमा आएका ३ जना व्यक्तिले पेट्रोल छर्केर गाडीमा आगो लगाई भागेको कांग्रेसले जनाएको छ । आगजनीबाट गाडीमा राखिएका प्रचार प्रसार सामाग्री जल्नुका साथै गाडी पूर्णरुपले क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया