सामाजिक सञ्जालमा युवा उम्मेदवार

Facebookकाठमाडौं, ९ कात्तिक । संविधानसभाको दोस्रो निर्वाचन आउन एक महिनाभन्दा पनि कम समय रहेका बेला विभिन्न दलका नेता तथा उम्मेदवाहरूले सामाजिक सञ्जालमार्फत चुनावी प्रचारलाई तीव्र वनाएका छन् । यसरी समाजिक सञ्जालमार्फत चुनावी प्रचार गर्नेमा युवा नेताहरू बढी छन् ।

युवाबीच लोकप्रिय बनेका ती नेताहरूका फेसबुक र ट्वीटरजस्ता सञ्जाल पनि चुनावी माहोलसँगै निकै सक्रिय भएका छन् । उनीहरूले ती सञ्जालमार्फत चुनावी प्रचार–प्रसारको जानकारी, घोषणापत्रका बारेमा प्रतिक्रिया र मतदातासँंग सल्लाह र सुझाव माग्ने गरेका छन् । नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले ६ कात्तिकमा फेसबुक स्टाटसमा घोषणापत्रका बारे सुझाब मागेका थिए । उनको उक्त स्टाटसलाई ७१ जनाले सेयर गरेका छन् भने ४ हजार ३ सय ९३ जनाले लाइक गरेका छन् ।
त्यसैगरी एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ६ का प्रत्यक्षतर्फका उम्मेदवार योगेश भट्टराईले ८ कात्तिकसम्म आफ्नो फेसबुक स्टाटस ‘अपडेट’ छन् । उनले ८ कात्तिकमा ‘अपडेट’ गरेको स्टटाटसमा शनिबार नेपालटारदेखि सुरु हुने पदयात्राको जानकारी गराएका छन् । भट्टराईको उक्त स्टाटसमा ६० जनाले लाइक गरेका छन् भने ४ जनाले सेयर र १२ जनाले कमेन्ट गरेका छन् । त्यसो त भट्टराईले आफ्नो चुनावी प्रचारका लागि नै भनेर वेभसाइट नै सञ्चालन गरेका छन् ।
एमाओवादीको तर्फबाट प्रत्यक्ष तर्फका काठमाडौं क्षेत्र नंम्बर ६ का उम्मेदवार हिमाल शर्माले पनि आफ्नो
फेसबुट स्टाटसलाई नियमित ‘अपडेट’ गरेका छन् । उनले ७ कार्तिकमा लखेको फेसबुकमा स्टाटसमा ३ सय ९५ जनाले लाइक गरेका छन् भने ४ जनाले सेयर गरेका छन् । उनको स्टाटसमा ३४ जनाले कमेण्ट गरेका छन् । यसरी अन्य नेताहरूले पनि चुनावी प्रचारका लागि ट्वीटर र फेसबुक प्रयोग गरेका छन् । एमाले सचिव शंकर पोख्रेल, युवा संघ नेपालका अध्यक्ष मेहश बस्नेत, एमाओवादीका नेता देवेन्द्र पौड्याल सुनील, नन्दकिशोर पुन पासाङ्, काङ्ग्रेस नेता नरहरी अचार्यलगायतले पनि चुनावी प्रचारका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् ।
चुनावी प्रचारमा सामाजिक सञ्जाल प्रयोग गर्ने शीर्ष नेताहरूमा भने एमाओवादीका डा. बाबुराम भट्टराई अगाडी देखिएका छन् । विशेष गरेर ट्वीटर चलाउने भट्टराईले फेसबुक भने गत सोमवारसम्म ‘अपडेट’ गरेका छन् । गोरखाको ग्रामिण इलाकाबाट
पोष्ट गरेको उक्त स्टाटसमा भट्टराईले भनेका छन् ‘रुचीपूर्वक मेरो फेसवुक चुनावी स्टाटस हेर्ने र टिप्पणी गर्नुहुने सबै महानुभावहरूप्रति म अत्यन्त आभारी छ,’ उनले थप लेखेका छन्, ‘यतिवेला म गोरखा–१ को ग्रामिण इलाकामा छु र जनताको अपार स्नेह र अपेक्षाबाट निकै द्रवित बनेको छु ।’ उनको उक्त स्टाटसलाई ५ सय २ जनाले सेयर गरेका छन् भने १० हजार ६ सय ५ जनाले लाईक र ३ हजार ८ सय १६ जनाले कमेण्ट गरेका छन् । कमेण्टमा मिश्रित प्रतिक्रिया रहेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नामबाट सञ्चालन भएको सीएमप्रचण्ड डटकम भने गत ९ चैतपछि ‘अपडेट’ भएको छैन् । एमाले अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, काङ्ग्रेस सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवालगायतका नेताको समाजिक सञ्जालप्रतिको चासो खासै देखिएको छैन् । उनीहरू सबैको सामाजिक सञ्जाल मार्फत प्रचार–प्रशार नीजि सहायक र नजिकका कार्यकर्ताले गरिरहेका छन् ।

प्रतिक्रिया