काठमाडौं, ९ कात्तिक । राष्ट्रिय नागरिक पार्टी(नेपाल) केन्द्रीय सचिवालय बैठकले तराईमा ‘बहुप्रदेश अभियान’ चलाउने निर्णय गरेको छ ।
सचिवालयको शुक्रबार बसेको बैठकले तराईलाई ‘एक मधेस एक प्रदेश’ बनाउने योजनाविरुद्ध ‘तराईमा बहुप्रदेश अभियान’ चलाउन लागेको जनाएको छ । त्यस अभियानका लागि सो पार्टीका अध्यक्ष राजकुमार लेखीको नेतृत्वमा कविराज राई, राजकुमार रेग्मी र कमल चौधरी रहनुभएको टोली तराईका विभिन्न जिल्लामा खटिने भएको छ । अभियानमा विभिन्न राजनीतिक दलका उम्मेदवार, बुद्धिजीवी, पत्रकार, अधिकारकर्मी, युवा विद्यार्थी, पेसाकर्मी तथा आम नागरिकसँग भेट गरी बहुप्रदेश अभियानलाई समर्थन गर्न आह्वान गरिने सो पार्टीद्वारा शुक्रवार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । एउटै प्रदेश वा थोरै प्रदेश बनाएर तराईमा संघीयताका नाममा एकात्मक शासन चलाउने मधेसी नेताहरूको स्वार्थलाई ठूला भनाउँदा दलहरूले पनि घुमाउरो रूपमा समर्थन गरेकामा चिन्तित भएको अध्यक्ष लेखीले जनाए । मंसीर ४ को चुनावमा सहभागी नबन्ने तर बहिष्कार पनि नगर्ने भनी पार्टीले गरेको निर्णयलाई जनतामाझ अझ दह्रोसँग लैजाने निर्णय पनि सो बैठकले गरेको छ ।
प्रतिक्रिया