चितवनमा ४ महिनामा सय जना डेँगु संक्रमित

Musqutoचितवन, ७ कात्तिक । चितवनमा डेँगु संक्रमितको संख्या ह्वात्तै बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको साउनदेखि सय जनामा डेँगुको संक्रमण देखिएको छ । कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार असोज महिनामा सबैभन्दा बढी ५० जना डेँगु संक्रमित भेटिएका थिए । तथ्यांकअनुसार साउनमा ७, भदौमा २०, असोजमा ५० र कात्तिक यता २० जनामा डेँगु भेटिएको छ ।

साउनदेखि यता ९ सय १० जनाको रगत नमुना परीक्षण गरिएकोमा १ सय जनामा डेँगु भेटिएको हो । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल र नेसनल सिटी अस्पतालमा आएका बिरामीमा डेँगु देखिएको हो । बिरामीको संख्या ह्वात्तै बढेपछि जनस्वास्थ्य कार्यालयले सचेतनाका लागि पनि तीव्र पारिएको जनाएको छ । बुधबार मात्रै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा डेँगु परीक्षणका लागि ५ सय किटको आवश्यकताका लागि पत्राचार गरिएको निरीक्षक केसीले बताएका छन् । बिरामीहरू सबैभन्दा बढी चितवनकै भए पनि नवलपरासी, मकवानपुर र वीरगन्जका समेत रहेका छन् । वर्षासँगै डेँगुका बिरामी बढेको र चाडपर्वमा बढी मानिसको आवतजावत बढेकाले संक्रमितको संख्या बढेको अनुमान जनस्वास्थ्य कार्यालयले गरेको छ ।

प्रतिक्रिया