बारामा नजमा खातुनको उम्मेदवारी दर्ता

UML 1वीरगञ्ज, ३ कात्तिक । एमालेले बारा जिल्लाको क्षेत्र नम्बर चारमा नजमा खातुनलाई उम्मेदवार बनाएको छ ।
कलैयास्थित क्षेत्र नम्बर–४ को निर्वाचन कार्यालयमा एमालेका जिल्ला स्तरीय नेताहरुसहित आज (आइतबार) पुगेकी खातुनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।
खातुनका पति महमुद आलमको अपरिचित समूहद्वारा हत्या भएपछि सो स्थान रिक्त थियो । एमालेले सो स्थानमा आलमकै पत्नी खातुनलाई उम्मेदवार बनाएको जनाएको छ ।
असोज–१७ गते उम्मेदवारी दर्ता गराएको भोलिपल्टै आलमलाई अपरिचित समूहले असोज–१८ गते लिपनीविर्तामा गोली हानेर हत्या गरेको थियो । कन्चटमा गोली लागि गम्भीर घाइते आलमको उपचारका क्रममा असोज–२४ गते शिक्षण अस्पताल महराजगञ्जमा मृत्यू भएको थियो ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि एमालेलाई आइतबारको समय दिएको थियो । आयोगले सो निर्वाचन क्षेत्रका लागि तीन दिनभित्र उम्मेदवारसम्बन्धी सबै प्रक्रिया सकाउने जनाएको छ ।
उम्मेदवारी दर्तापछि सोमबार मनोनयन दर्तामाथिको छानवीन गर्ने र मंगलबार उम्मेदवारको दाबी बिरोध फिर्ता र मनोनयनको अन्तिम नामावाली सार्वजनिक गर्दै त्यहीदिन चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम आयोगले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया