झापामा एचआइभी संक्रमित चार सय तीन

aidsझापा, २५ असोज । जिल्लामा एचआइभी एड्स तथा लागुऔषध रोकथाममा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाबीच भएको छलफलमा झापामा एचआइभी संक्रमितको संख्या चार सय तीन पुगेको एक तथ्यांक सार्वजनिक गरेको छ ।

नाइटचेस क्लब काँकडभिट्टा र साहारा नेपालद्वारा आयोजित कार्यक्रममा जिल्लामा चार सय तीन एचआइभी संंक्रमित पहिचान भएका, ४८ जना एड्सको अवस्थामा पुगेका र २१ जनाको मृत्यु भइसकेको जिल्ला एड्स समन्वय समितिकी कार्यक्रम संयोजक लिवर्टी श्रेष्ठले बताइन् ।
कार्यक्रम अवधिमा कुल ६ हजार ६ सय तीन जनाको एचआइभी परीक्षण गरिएकामा ६२ पुरुष र ३७ महिला गरी ९९ जना एचआइभी पहिचान भएका थिए । तीमध्ये १५ देखि ४९ वर्ष समूहमा ९१ जना र १४ वर्षमुनिका सात जना र ५० वर्षमाथिका एक जना एचआइभी संक्रमित रहेको पाइएको थियो ।
मेची अञ्चल अस्पताल एआरटी केन्द्रकी परामर्शदाता कमला कार्कीले हालसम्म दुई सय ६७ एआरटीको पूर्वरजिस्ट्रेसनमा रहेका र एक सय ३७ जना एचआइभी संक्रमितले औषधि लिइरहेको जानकारी दिइन् । नेपाल परिवार नियोजन संघको सहयोगमा सञ्चालित एकीकृत एचआइभी रोकथाम कार्यक्रमको सन् २००९ फेब्रुअरी १ देखि हालसम्मको उपलब्धि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया