‘फेक फेसबुक’ एकाउण्टबाट कांग्रेस तनावमा

Congressकाठमाडौं, २३ असोज । नेपाली कांग्रेसले आफ्नो नाममा बिरोधीले सामाजिक सञ्जाल फेसबुकको ‘फेक एकाउण्ट’ बनाएर पार्टीका विरुद्ध गलत सन्देश दिने गरेको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ ।
गलत व्यक्तिले बनाएको फेसबुकको ‘फेक एकाउण्ट’ बन्द गर्न माग गरेर कांग्रेसले हुनमानढोकास्थित साईबर अपराध शाखामा आज (बुधबार) उजुरी दर्ता गराएको हो । सचिव प्रदीप पराजुलीले कांग्रेस केन्द्रीय कार्यालयका नाममा खोलिएको फेसबुकको ‘फेक एकाउण्ट’ बन्द गर्न माग गरेका हुन् । उनले कांग्रेसको उजुरी पत्र शाखामा दर्ता गराएका छन् ।
फेसबुकको ‘फेक एकाउण्ट’बाट पार्टीका विरुद्ध गलत सन्देश दिनेलगायतका कार्य भएपछि कांग्रेस कानूनी कारबाहीको प्रक्रियामा गएको हो । फेसबुकको ‘फेक एकाउण्ट’ र त्यसमा रहेका गलत सन्देश एवं समाचारका कारण पार्टीलाई असर पुगेको कांग्रेसले उजुरी पत्रमा उल्लेख गरेको छ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको नाममा पार्टीको लेटरप्याड, स्ट्याम्प प्रयोग गरी फेसबुकको ‘फेक एकाउन्ट’ सञ्चालन गर्दै आईरहेको छ,’ उजुरी पत्रमा भनिएको छ, ‘हामीले बारम्बार उक्त एकाउण्ट प्रयोगकर्तालाई सचेत गराउँदा गराउँदै पनि फेसबुक एकाउन्ट निरन्तर सञ्चालन भईरहेको छ ।’
‘फेक फेसबुकका समाचारहरुले संविधानसभाको निर्वाचनलाई समेत प्रभाव पार्ने । चुनावको मुखमा आएर पार्टीलाई बद्नाम गराउनुका साथै नेपाली कांग्रेसका शुभचिन्तकहरुमाझ भ्रम फैलाउन हुँदा उक्त फेक फेसबुक एकाउण्ट तुरुन्त बन्द गराई प्रयोगकर्तालाई कानून बमोजिम कारबाही गर्नु हुन अनुरोध छ,’ कांग्रेसको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया