खाद्यान्नभन्दा मदिरा आयात बढी

madiraबझाङ, २३ असोज । सुदूरपश्चिमको विकट जिल्ला बझाङमा दसैँको आगमनसँगै खाद्यान्नभन्दा मदिरा आयात बढी हुने गरेको छ । असोज सुरु भएपछि तराईबाट आउने मालबाहक ट्रकमा अन्य मालसामानभन्दा मदिरा अत्यधिक भित्रिएपछि यस्तो अवस्था देखिएको हो । यो समयमा दसैँतिहारसँगै स्थानीय चाडपर्व पर्ने भएकाले अन्य सामानभन्दा अत्यधिक मदिरा भित्रिएको हो । सदरमुकाम चैनपुरलगायत आसपासका गाविसस्थित थोक व्यापारीका गोदाम अत्यधिक मदिराले भरिपूर्ण छन् ।

दसैँको मुखमा सधैँ खाद्यान्नको अभाव हुने जिल्लामा मदिराको भने कहिल्यै पनि अभाव हुने गरेको छैन । यार्सागुम्बाबाटै बर्सेनि करिब एक अर्बको आम्दानी गर्ने यस जिल्लाबासीहरू अधिकांश पैसा मदिरामा नै खेर फालिरहेका छन् ।
दसैँको मुखमा भोकमरी फैलिएर बझाङको अति दुर्गम गाविस काँडाका बासिन्दा प्रतिकेजी १ सय ५० तिरेर मोटो चामल खान बाध्य भइरहेका बेला चैनपुरका व्यापारीले भने दिनप्रतिदिन मदिरा मात्र आयात गर्ने गरेको स्थानीय महिला अगुवाहरूको गुनासो छ ।
उद्योग वाणिज्य सङ्घ बझाङका अध्यक्ष जगत मल्ल सरकारी उदासीनता र नाफामुखी व्यापारीका कारण यस्तो अवस्था सिर्जना भएको र आफूहरू मागअनुसारको मदिरा आयात गर्न बाध्य भएको बताउँछन् । अत्यधिक मदिरा सेवनका कारण एक वर्षमा करिब २५ जनाको मृत्यु भएको र पाँच महिला बलात्कारमा परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । खाद्यान्नभन्दा माग बढी मदिराको हुने गरेको र सुदूरपश्चिमको सबैभन्दा बढी मदिरा बिक्री बझाङमा हुने गरेको होटल व्यवसायी संघका अध्यक्ष ढेपबहादुर भण्डारी बताउँछन् ।

प्रतिक्रिया