सफल पोखराको तयारी पूरा

काठमाडौं, २२ असोज । ४ कात्तिकमा सुरु हुने तेस्रो संस्करणको सफल पोखरा गोल्डकप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक कास्की जिल्ला फुटबल संघले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दियो ।

‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गर्‍याँै । बहुप्रतिक्षित तेस्रो संस्करण सफल बनाउन सम्पूर्ण पोखरेली जनता लागेका छन्,’ काठमाडौंमा आयोजित  पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपी भट्टराईले बताए । प्रतियोगितामा यसपटक नेपालका सात क्लबसँगै भुटान, अस्ट्ेरलिया र हङकङको टिमले समेत सहभागिता जनाउनेछन् । त्यस्तै, यु–१६ राष्ट्रिय टोली र आयोजक पोखरा ११ समेत गरेर प्रतियोगितामा जम्मा १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा यति एफसीले अस्ट्ेरलिया र हङकङ नेप्लिज फुटबल एसोसियनले हङकङको प्रतिनिधित्व गर्नेछन्् ।
‘उनीहरू केवल घुम्नका लागि आएका टुरिस्ट होइनन्, फुटबल खेलेर जित्ने इच्छाशक्ति उनीहरूमा छ । त्यसैले प्रतियोगिता रोमाञ्चक हुनेछ,’ विदेशी क्लबका सम्बन्धमा अध्यक्ष भट्टराईको प्रतिक्रिया छ । प्रतियोगितामा सहभागी आर्मी, एपिएफ, मनाङ मर्‍र्याङदी, थ्री–स्टार, जावलाखेल, हिमालयन शेर्पा र फ्रेन्डस् नेपालका ए डिभिजन क्लब हुन् । गत वर्षको उपविजेता तथा सहिद स्मारक ए डिभिजन लिगको सुपर एटमा पुग्न सफल मच्छिन्द्र क्लब यसपटक प्रतियोगितामा सहभागी छैन । त्यस्तै, पुलिस तथा आरसिटीको सहभागिता पनि यसपटक रहनेछैन । ‘काठमाडौंका सबै क्लबहरूलाई प्रतियोगितामा सहभागी गराउने हाम्रो लक्ष्य हो । त्यसैले यसपटक केही नयाँ क्लबहरूलाई सहभागी गरायौँ ।
पुलिसले आन्तरिक कारणले गर्दा प्रतियोगितामा सहभागी नहुने निर्णय लिएका कारण अर्को विभागीय टिम एपिएफलाई सहभागी गराएका हौँ,’ सहभागी ए डिभिजन क्लबका सम्बन्धमा भट्टराईको टिप्पणी थियो । सुजल डेरीको उत्पादन सफल दूधले प्रतियोगितालाई मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि बंगलादेशको सेख जमल धनमुन्डी क्लबले जितेको थियो । दोस्रो संस्करणमा भने काठमाडौंको मनाङ मर्‍र्याङदी क्लब उपाधि जित्न सफल रह्यो । ५ कात्तिकदेखि १६ गतेसम्म पोखरा रंगशालामा सञ्चालने हुने प्रतियोगिताको विजेता टिमले यसपटक नगद तीन लाख ५५ हजार रुपियाँ हात पार्नेछ ।

प्रतिक्रिया