ट्राफिक जनचेतना फैलाउन विद्यार्थी सक्रिय

इटहरी : ‘सडक प्रयोगकर्ताले सावधानीपूर्वक सडकको प्रयोग गरौँ’ भन्ने नाराका साथ सुनसरीको खनारमा सोमबारदेखि ट्राफिक जनचेतना अभियान सुरु गरियो ।
प्रहरी चौकी खनार, ट्राफिक प्रहरी बिट स्थानीय क्लब र विद्यार्थीको सहभागितामा बिहानैदेखि सडकमा ट्राफिक जनचेतनासँग सम्बन्धित पर्चा, प्लेकार्ड र ब्यानर बोकेर ट्राफिक प्रहरी, प्रहरी र विद्यार्थीले यात्रुलाई सावधानीपूर्वक सडक प्रयोग गर्न आग्रह गरे ।
ट्राफिक जनचेतना विस्तारमा सक्रिय रहेका प्रहरी र विद्यार्थीले पैदलयात्रु, साइकलयात्री तथा साना तथा ठूला सवारीसाधनका चालकलाई ट्राफिक नियमअनुसार सतर्क बनेर सवारीसाधन चलाउन पनि आग्रह गरे । सडकमा जथाभावी छाडिने चौपाया तथा सडक क्षेत्रमा नै राखिने निर्माण सामग्री एवं उछिन खोज्दा र मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा पनि सवारी दुर्घटनामा अधिक वृद्धि भइरहेकाले अब पूरै सावधानीका साथ सडकमा सवारीसाधन चलाउन पनि उनीहरूले आग्रह गरे ।
औद्योगिक करिडोर क्षेत्रमा काम गर्ने श्रमिक एवं कामदारले सडक नै ढाकेर साइकलमा यात्रा गर्दा पनि धेरै दुर्घटना भइरहेकाले साइकलयात्रुले सडकको साइडमा पंक्तिबद्ध भएर साइकल चलाउन पनि अभियानकर्मी, प्रहरी र विद्यार्थीले आग्रह गरेका थिए । (सौस)

प्रतिक्रिया