तामझामका साथ छुट्दै खुमबहादुर

khum-bhadur-khadkaकाठमाडौं, २२ असोज । भ्रष्टाचार मुद्दामा दोषी ठहर भई जेलजीवन बिताइरहेका पूर्वमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्का बुधबार छुट्दै छन् । १२ वर्ष मन्त्री पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदातलबाट भ्रष्टाचारी ठहर भई खड्काले एक वर्ष दुई महिना जेलमा बिताएका छन् । अदालतले तोकेको कैद सजाय भुक्तान गरी खड्का बुधबार छुट्न लागेका हुन् ।

खड्का जेलबाट छुट्ने भएपछि उनका समर्थक सोमबारदेखि राजधानी आउन थालेका छन् । खड्का जेलमुक्त भएको दिन खुसियाली मनाउन उनको गृहजिल्ला दाङसहित रौतहट, विराटनगर, तनहुँलगायत जिल्लाबाट समर्थक राजधानी आउन थालेका हुन् । बस रिजर्भ गरी केही जिल्लाबाट खड्काका समर्थक राजधानी भित्रिइसकेका छन् भने केही जिल्लाबाट मंगलबार साँझसम्म आइपुग्ने एक सहयोगीले बताए ।
सर्वाेच्चले खड्कालाई ३० साउन २०६९ मा भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद सजाय र ९४ लाख ७४ हजार १ सय २२ रुपियाँ बिगो तथा त्यति नै जरिवानाको फैसला सुनाएको थियो । अदालतले फैसला सुनाएको एक सातापछि जिल्ला अदालतमा हाजिर भएका खड्का बुधबार बिहान सवा १० बजे जेलमुक्त हुने कारागार प्रशासनले जनाएको छ । उनी डिल्लीबजारस्थित सदरखोर जेलमा कैद सजाय काटिरहेका छन् ।
जिल्ला र राजधानीमा रहेका उनका समर्थकले बुधबार र्‍याली निकाल्ने तयारी गरेका छन् । जेलबाट छुट्नासाथ खड्कालाई आफ्नो निवास सानेपासम्म पैदल यात्रा गराउने कार्यक्रम उनका समर्थकले तय गरेका छन् । पैदल यात्रामा रहने समर्थकले खड्काको फोटो अंकित टिसर्ट र टोपी लगाउने व्यवस्था गरिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार हजारौँ थान टिसर्ट र टोपी तयार गरिसकिएको छ । खड्काका एक समर्थकले सहयोगीले खड्का छुट्ने खुसियालीमा हजारौँलाई सहभागी गराउने दाबी गरे ।
खड्का जेलमुक्त हुने भएपछि सानेपास्थित उनको निवासमा सरसफाइमा तीव्रतासमेत दिइएको छ । स्रोतका अनुसार खड्का डिल्लीबजारबाट निवास पुगेपछि आरती उतार्ने तयारी छ । खड्कापत्नी शिलाका माइती पक्षले आरती उतार्ने तयारी गरेको स्रोत बताउँछ ।
खड्कानिकट स्रोतले भने उनी तामझामको पक्षमा नरहेको जनाएको छ । ‘उहाँ सामान्य रूपमा जेलबाट छुट्ने सोचमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘तर, केही साथीले उहाँको स्वागतमा कार्यक्रमको तयारी गर्नुभएको रहेछ ।’
कांग्रेसवृत्तमा अझै प्रभाव देखाउन सक्ने खड्काले जेलबाटै दोस्रो संविधानसभा चुनावका लागि आफूनिकटलाई टिकट दिलाउन चलखेल गरेका थिए । उम्मेदवार छनोटका क्रममा स्याङ्जा र तनहुँको विवाद मिल्न नसकेपछि पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, नेता शेरबहादुर देउवा खड्कालाई भेट्न जेलमै पुगेका थिए । पार्टीका शीर्ष नेताहरू कोइराला, पौडेल र देउवाले विवाद मिलाइदिन खड्कालाई आग्रह गरेका थिए । त्यसो त खड्काले टिकट वितरणमा असन्तुष्टि जनाउँदै जेलबाटै विज्ञप्ति निकालेर उनकी पत्नीले पाएको उम्मेदवारको टिकट फिर्ता लिएको जनाएका थिए । खड्काको विज्ञप्तिपछि कांग्रेसले उनकी पत्नीको ठाउँमा अर्कैलाई उम्मेदवार चयन गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा रहँदा खड्काले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै २०६४ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस बेला विशेष अदालतले उनलाई सफाइ दिए पनि ३० साउन २०६९ मा सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले भ्रष्टाचारी ठहर गरेको थियो । अदालतले ३० साउन २०६९ मा सजाय, जरिवाना र बिगो तोकिदिएको थियो । डेढ वर्षको कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपियाँ जरिवाना तथा त्यति नै बिगो तिर्नुपर्ने फैसला संयुक्त इजलासले गरेको थियो । सर्वोच्चको फैसलालाई स्वीकार गरेर खड्का ५ भदौ ०६९ मा जेल गएका हुन् ।

प्रतिक्रिया