पत्रपत्रिकामा आएका वन्दसूचीको भ्रममा नपरौं

congress_officeकाठमाडौं, २१ असोज । कांग्रेसले समानुपातिकको वन्दसूचीमा हुँदै नभएका नाम रहेको भनेर पत्रपत्रिकामा आएका समाचारको खण्डन गर्दै भ्रममा नपर्न अपील गरेको छ ।
कांग्रेसले विज्ञप्ति जारी गरेर पत्रपत्रिकामा प्रकाशित समाचारको भ्रममा नपर्न आग्रह गरेको हो । केही पत्रपत्रिकाले समानुपातिकको वन्दसूचीमा बागी उम्मेदवारहरुको नाम परेको समाचार प्रकाशित गरे पछि कांग्रेसले खण्डन गरेको छ ।
‘निर्वाचन आयोगमा पार्टीका तर्फवाट पेश गरिएको वन्दसूचीमा हुँदै नभएका नामहरु केही पत्रपत्रिकामा प्रकाशित हुँदा भ्रम पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता मनगढन्ते समाचारमा विश्वास नगर्न सम्पूर्ण साथीहरुलाई नेपाली कांग्रेस अपील गर्दछ ।’
विभिन्न जिल्लाका केही क्षेत्रहरुमा विद्रोही उम्मेदवारी दर्ता भएको समाचारप्रति पार्टीको गम्भीर ध्यान आकर्षित भएको कांग्रेसले विज्ञप्तिमा जनाएको छ ।
‘पार्टीको आदर्श र मर्यादा पालना गर्दै उम्मेदवारी दिएका साथीहरुलाई उम्मेदवारी तुरुन्त फिर्ता लिन आग्रह गर्दै आधिकारिक उम्मेदवारहरुलाई विजयी गराउन सम्पूर्ण साथिहरुमा अपील गर्दछ,’ कांग्रेसले भनेको छ ।
कांग्रेसले आन्तरिक असन्तुष्टि एवं गुनासाहरुलाई पार्टीको सम्वन्धित संयन्त्र मार्फत सम्वोधन गरिने आश्वासन दिएको छ ।

प्रतिक्रिया