झापामा कृषक समूह सक्रिय

भद्रपुर : समूहमा आबद्ध भएर काम गर्दा आधुनिक प्रविधि प्रयोगमा ल्याउन सहज हुने र त्यसबाट आफ्ना आवश्यकता पूरा गर्न सकिने भएपछि जिल्लाका कृषक समूह त्यसतर्फ आकर्षित भएका छन् । कृषि प्रविधिको प्रयोगबाट बढी उत्पादन पाउनुका साथै बचत संकलन गरी ऋणसमेत लिन पाइने भएपछि कृषक समूहतर्फ आकर्षित भएका हुन् ।
झापामा २०४८ मा दश कृषक समूह दर्ता भएको र गत आव २०६९/०७० को असार मसान्तसम्म आइपुग्दा सात सय ३० कृषक समूह जिल्ला कृषि विकास कार्यालयमा दर्ता भइसकेका छन् । सोमध्ये महिला कृषक समूह एक सय ६१, पुरुष कृषक समूह ४० र मिश्रित कृषक समूह पाँच सय २९ रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयबाट सञ्चालित कृषि प्रसारका कार्यक्रम कृषक समूहमार्फत परिचालन हुने गरिएको कार्यालयका अधिकृत रामप्रसाद गौतमले बताए ।
कृषक समूहले व्यवसायिक खेती गर्ने, त्यसका लागि बाली, जात र क्षेत्रफल तोक्नुका साथै उन्नत जातका बिउबिजन ल्याई समूहभित्रका किसानबीच बिक्रीवितरण गर्ने जस्ता कार्य गर्छन् । यसका साथै विभिन्न खेतीका तालिम कार्यक्रम सञ्चालन र कुलो, पैनी निर्माण तथा मर्मत सम्भारका काम पनि गर्ने गरेको बताइएको छ ।
किसानलाई खेतीको समयमा आर्थिक अभाव हुन नदिनका लागि बचत संकलन र पुँजी परिचालन पनि सोही अनुहरू हुने भएकाले कृषक समूहमा बस्दा यहाँका कृषकलाई फाइदा पुग्ने गरेको छ । यस जिल्लामा कृषक समूहसँग तीन करोड १९ लाख ५१ हजार सात सय रुपियाँ बचत रहेको छ ।

प्रतिक्रिया