चित्रबहादुर केसी प्रत्यक्षमा नलड्ने

chitra bd kcकाठमाडौ, १७ असोज । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालले बुधबार प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सार्वजनिक गरेको छ । उक्त पार्टीले पत्रकार सम्मेलन गरी प्रत्यक्षतर्फ एक सय ४० र समानुपातिकतर्फ एक सय उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचीअनुसार अध्यक्ष केसी समानुपातिकबाट उम्मेदवार बन्ने भएका छन् । समानुपातिकमा ५० महिला र ५० पुरुषको नाम राखिएको छ । प्रत्यक्षतर्फ महाकाली अञ्चलबाट १८, भेरी कर्णालीबाट १७, राप्ती लुम्बिनीबाट ३४, गण्डकी धवलागिरिबाट १७, बाग्मतीबाट १७, नारायणीबाट १७, जनकपुर सगरमाथाबाट ६ र मेची कोसीबाट १३ जना उम्मेदवार तोकिएका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष केसीले राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका लागि आफ्नो पार्टीलाई भोट दिनुपर्ने बताए । उनले १ सय २५ भन्दा बढी जाति भएको देशमा दुई चार पार्टीलाई छुट्टै राज्य दिँदा फेरि अस्तव्यस्त हुने भन्दै अब मात्रै विकेन्द्रीकरणको अभियानलाई विस्तार गर्नुपर्ने धारणा राखे । एमाओवादी र मधेसी गठबन्धन खतरनाक भएको उनको तर्क थियो ।

प्रतिक्रिया