उम्मेदवारी दर्ता आज

Elecatation-Commisionकाठमाडौं, १७ असोज । ४ मंसिरका लागि तोकिएको संविधानसभाको दोस्रो चुनावका लागि प्रत्यक्षतर्फ आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । राजनीतिक दलहरूले पहिलो हुने चुनावी कार्यक्रमअनुसार आज उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

निर्वाचन आयोगको चुनावी कार्यक्रमअनुसार २ सय ४० वटै क्षेत्रमा आज उम्मेदवारको मनोनयन दर्ता हुनेछ । उम्मेदवारले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनेछन् । प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा गरेको आयोगले जनाएको छ । ‘आयोगले ७५ वटै जिल्ला सदरमुकाममा सबै दलका उम्मेदवारको मनोनयन दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गरेको छ,’ आयोगका प्रवक्ता वीरबहादुर राईले भने, ‘बिहीबार बिहान १० बजेदेखि ५ बजेसम्म सबै दलका उम्मेदवारले आआफ्नो निर्वाचन क्षेत्रको उम्मेदवारी जिल्ला सदरमुकाममा गएर दिन सक्नुहुन्छ ।’
प्रवक्ता राईले उम्मेदवारको सुरक्षालगायत कुराका लागि पनि आयोगको ध्यान केन्द्रित भएको जानकारी दिए । ‘चुनाव बहिष्कार गरेका केही दलले मनोनयन दर्ता प्रक्रियामै अवरोध गर्ने चेतावनी दिइरहेको अवस्थालाई ख्याल गरेर उम्मेदवारको सुरक्षाका लागि हामीले सरकारलाई समेत पटक–पटक ध्यानाकर्षण गराएका छौँ,’ राईले भने ।
आयोगले जारी गरेको चुनावी कार्यक्रमअनुसार प्रत्यक्षतर्फका उम्मेदवारले बिहीबार (आज) मनोनयन दर्ता गर्न लागेका हुन् । आयोगमा चुनावका लागि दल दर्ता गराउने राजनीतिक दलको संख्या १ सय ३० छ । १७ गते प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची आयोगले १८ गते प्रकाशन गर्ने कार्यक्रम छ । प्रत्यक्षतर्फका उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम आयोगले १९ असोजलाई तोकेको छ । त्यसैगरी, प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली २३ असोजमा प्रकाशन गर्ने र २४ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
त्यस्तै, समानुपातिक प्रणालीमा भाग लिनका लागि पेस गरेका राजनीतिक दलको नामावली भने आयोगले १६ गते नै प्रकाशित गरिसकेको छ । समानुपातिकमा भाग लिनका लागि १४ गते आयोगमा १२४ दलहरूले निवेदन दिएका थिए । ती दलहरूको सूची आयोगले बुधबार प्रकाशन गरेको छ । ती संख्यामा केही हेरफेर नगरी सबै दलको सूची बुधबार प्रकाशन गरिएको पनि राईले जानकारी दिए । समानुपातिकतर्फ भाग लिने दलले १० हजार रुपियाँ धरौटी बुझाएर मात्र निवेदन दिन पाउने व्यवस्था आयोगले गरेको थियो ।
आयोगले १८ गतेसम्ममा समानुपातिक चुनावमा भाग लिने राजनीतिक दलको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका बनाएको छ । समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीलाई आयोगले ६ कात्तिकमा सार्वजनिक गर्ने कार्यक्रम छ ।
आयोगको पूर्वप्रकाशित कार्यक्रमअनुसार समानुपातिकमा भाग लिने दलहरूले ७ असोजमा निवेदन दिनुपर्ने र ११ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने तय भएको थियो । त्यस्तै, प्रत्यक्ष प्रणालीतर्फ १० गते नै उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम थियो । राजनीतिक दलहरूको आग्रहमा आयोगले चुनावी कार्यक्रमलाई एक सातापछि सारेको थियो ।

प्रतिक्रिया