कतै कांग्रेस परित्याग/कैत बहिष्कार

काठमाडौं, १६ असोज । आगामी चुनावमा टिकट नपाए पछि केन्द्रीय सदस्य सुप्रभा घिमिरेले कांग्रेस परित्याग गरेकी छन् ।
काठमाडौंमा आज (बुधबार) पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य घिमिरेले कांग्रेस परित्याग गरेको जानकारी दिएकी हुन् । घिमिरेले चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेकी छन् । ‘चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिन्छु,’ उनले भनिन्, ‘मेरा समर्थकको आग्रहमा उम्मेदवारी दिन लागेकी हुँ ।’
तत्काल कुन राजनीतिक पार्टीमा प्रवेश गर्ने विषयमा स्पष्ट केही नबताए पनि घिमिरेले भनिन्, ‘नयाँ पार्टी खोल्ने सम्भावना पनि जीवितै छ ।’
घिमिरेले आफू भन्दा कनिष्ठ गगन थापालाई टिकट दिएको भन्दै असन्तुष्टी जनाउँदै आएकी थिईन् । कांग्रेसले केन्द्रीय सदस्य समेत रहेका युवा नेता गगन थापालाई काठमाडौंको एक नम्बर क्षेत्रबाट टिकट दिएको थियो ।
घिमिरे २०६४ सालको संविधानसभा चुनावमा काठमाडौं–४ बाट विजयी भएकी थिइन् ।
उता, काठमाडौं–२ मा पनि स्थानीय नेता तथा कार्यकर्ताले चुनावमा टिकट पाएकी विद्यार्थी नेता प्रतिमा गौतमको खुलेरै विरोध जनाएका छन् । क्षेत्र नम्बर दुईका नेताहरुले आजै (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर गौतमलाई असहयोग गर्ने चेतावनी दिए ।
क्षेत्रीय समिति सभापति उपेन्द्र कार्की, दीपक कुइँकेललगायतले गौतमलाई बहिष्कार गरेको जनाए ।

प्रतिक्रिया