तनहुंमा पौडेल विरुद्ध गुरुङको बागी उम्मेदवारी

Ramchandra-Poudel

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल विरुद्ध तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले बागी उम्मेदवारी घोषणा गरेका छन् ।
तनहुं क्षेत्र नम्बर दुईमा उम्मेदावरीका लागि केन्द्रबाट टिकट पाएका पौडेल विरुद्ध तरुण नेता गरुङले बागी उम्मेदवारी दिन लागेका हुन् । आफ्नो पुरानो क्षेत्रबाट असुरक्षित भएपछि पौडेल दुई नम्बरमा हान्नीएका थिए । गुरुङले पौडेल विरुद्ध बागी उम्मेदवारी दिने निर्णय आज (बुधबार) गरेका हुन् ।
उपसभापति पौडेलको घर भएको क्षेत्र तीन नम्बर हो । गरुङले भोलि १७ गते बिहीबार निर्वाचन कार्यालयमा आफूले स्वतन्त्रबाट उम्मेदवारी दिने बताए ।
‘उपसभापति रामचन्द्र पौडेल ज्यू आफ्नो तीन नम्बर क्षेत्रमा उम्मेदवारी नदिएर दुईमा आउनु भएको छ,’ नेता गुरुङले भने, ‘मलाई पार्टीले टिकट दिन लागेकोमा उहांले रोकी दिनु भएको हो ।’
दुई नम्बर क्षेत्रका कार्यकर्ताको आग्रहमा आफूले स्वतन्त्रबाट उम्मेदावरी दिन लागेको जानकारी उनले दिए । ‘दुई नम्बर क्षेत्रका कार्यकर्ताको आग्रहमा मैले स्वतन्त्रबाट प्रत्यक्षमा उम्मेदावरी दिन लागेको छु,’ टेलिफोनमा गुरुङले भने, ‘मेरो उम्मेदवारी कांग्रेसका लागि हुने छ ।’
तरुण दलका केन्द्रीय सदस्य गुरुङ कांग्रेस नेता खुमबहादुर खड्का निकटका मानिन्छन् । उपसभापति पौडेलसंग खड्काको राजनीतिक समीकरण खासै जम्दैन । पौडेलले खड्कालाई कांग्रेसमा सहयोग नगर्ने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया