आजदेखि खाद्यको खसी–बोका बिक्री

khasi-bokaकाठमाडौ, १६ असोज । नेपाल खाद्य संस्थानले बुधबारदेखि दसैँका लागि खसीबोका बिक्री गर्ने भएको छ । सुदूरपश्चिमका पहाडी भेगबाट खरिद गरी काठमाडौं ल्याइएका खसीबोकाको मूल्य भने अझै निर्धारण भइसकको छैन । तर पनि संस्थानले निजी क्षेत्रको एकाधिकार हटाउन यसपटक चाँडै खसी बोका बिक्री सुरु गर्न लागेको हो । बर्डºलुले कुखुरा व्यवसाय धरासायी भएपछि खसी बोकाको मूल्य अकासिएको छ ।

अघिल्लो वर्षको दसैँमा घटस्थापनाको दिनबाट बिक्री सुरु गरिए पनि यसपटक व्यापारीले गाउँमै गएर खसी ढुवानी गर्न सुरु गरेकाले पछिसम्मलाई खसीबोका ढुवानी गर्न सक्ने अवस्थामा कमी आउन सक्ने भन्दै खाद्यले घटस्थापना सुरु हुनुपूर्व नै बिक्री गर्न लागेको दाबी गरेको छ । आमउपभोक्ताको हित र सुविधालाई ध्यानमा राख्दै यसपटक तीन/चार दिन चाँडैदेखि खसीबोका बिक्री गर्न लागिएको संस्थानका महाप्रबन्धक डा. शिवहरि श्रेष्ठले बताए । उनले एक हजारभन्दा बढी खसी बोकका भित्री सकेको जानकारी दिए । बुधबारबाट दैनिक चार/पाँच सयका दरले खसी बोका भित्रिने खाद्यले बताएको छ ।
संस्थानले खरिद गरिएका खसीबोका किन्ने ठाउँदेखि बीचबाटो, थानकोट र काठमाडौंमा बिक्री स्थलसम्म चारपटक स्वास्थ्य परीक्षण गर्ने बताएको छ । त्यसैगरी, सरकारको नीतिअनुरूप संस्थानले दसैँ–तिहारका लागि प्रतिकेजी दुई रुपैयाँँ छुट सुविधासहित विभिन्न जिल्लामा सुपथ मूल्यका पसल सञ्चालन गरेको पनि महाप्रबन्धक श्रेष्ठले बताए । संस्थानका अनुसार ५० हजार क्विन्टल चामलमध्ये उपत्यकामा २० हजार र बाहिर ३० हजार बिक्री भइरहेको छ । सो छुट सहुलियत सुविधामा सरकारले क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको पनि उनले बताए ।

मूल्यमा आपत्ति

नेपालगन्ज : दसैं–तिहारलाई ध्यानमा राखी नेपाल खाद्य संस्थानले निर्धारण गरेको जिउँदो खसीबोकाको खरिद मूल्यप्रति मासु व्यवसायीले विरोध जनाएका छन् ।
उनीहरूले संस्थानले कामय गरेको मूल्यले स्थानीय व्यापारी मर्कामा परेको गुनासो गर्दै विरोधस्वरूप कोहलपुरमा संस्थानको खसीबोका खरिद केन्द्रमा अवरोधसमेत पुर्‍याएका छन् । संस्थानले २५ किलोदेखि माथिको जिउँदो खसीको मूल्य प्रतिकिलो ३ सय ३५, २० देखि २५ किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो ३ सय ३० र १६ किलोभन्दा माथिको जिउँदो बोकाको मूल्य प्रतिकिलो ३ सय २५ रुपैयाँ कायम गरेको छ ।
उक्त मूल्य काठमाडौंका लागि मात्र सुहाउँदो रहेको भन्दै मासु व्यवसायी आन्दोलितसमेत बनेका छन् । संस्थानले मनपरी खसीबोकाको मूल्य निर्धारण गरेर स्थानीय व्यवसायी तथा उपभोक्तालाई मर्कामा पारेको भन्दै कोहलपुर क्षेत्रका व्यवसायीले मंगलबारदेखी खसीको मासु बिक्री बन्दसमेत गरेका छन् । जिल्लामा हाल जिउँदो खसी प्रतिकिलो २ सय ३५ देखि २ सय ५० सम्म खरिद भइरहेका बेला संस्थानले ८५ रुपैयाँ बढाउँदा स्थानीय व्यापारी मर्कामा परेको खसीबोका व्यापार संघ कोहलपुरका अध्यक्ष कृष्णबहादुर खत्री बताउँछन् । ‘संस्थानले हाल कायम गरेको मूल्यमा खसीबोका खरिद गरी मासु बिक्री गर्दा प्रतिकिलो ७ सयदेखि ८ सय रुपैयाँसम्म पुग्न जान्छ,’ अध्यक्ष खत्रीले भने ।
हाल बाँकेको नेपालगन्ज, कोहलपुरलगायत स्थानमा खसीको मासु प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री भइरहेको छ । उता, नेपाल खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जका प्रमुख शंकर सापकोटाले सबैको सहमतिमा उक्त मूल्य कायम गरेको बताए ।

प्रतिक्रिया