काठमाडौं, १६ असोज । विज्ञहरू, सरोकारवाला प्राज्ञ तथा अधिकारकर्मी महिलाहरूले कागजी रूपमा पाएका अधिकारलाई व्यवहारमा अवलम्बन गर्नु पर्ने अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको औँल्याएका छन् । अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्था तथा एक्सन एड इन्टरनेसनलको संयुक्त आयोजनामा ललितपुरमा मंगलबार सुरु भएको पहिचान, शक्ति र रूपान्तरणका लागि महिला सम्मेलनका अवसरमा उक्त विचार अभिव्यक्त भएका हुन् ।
उद्घाटन मन्तव्य व्यक्त गर्दै वरिष्ठ अर्थशास्त्री एवं महिला अधिकारवादी डा. मीना आचार्यले विगतको तुलनामा नेपाली महिलाहरूको स्थिति सुधारोन्मुख भए पनि स्रोत र साधनमा पछि पारिएकाले कानुनी रूपमा पाएको अधिकारको भोग गर्न नसकेको विचार व्यक्त गरिन् । उनले क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता पनि औँल्याइन् ।
अस्मिता संस्थाकी अध्यक्ष इन्दु तुलाधरले इतिहास हेर्दा नेपाली महिलाहरूको योगदान पुरुषको भन्दा कम नभएता पनि नेपालको सामाजिक संरचनामा पुरुषत्त्वलाई बढी सम्मान र दर्जा दिइएको हुनाले यो असमान शक्ति सम्बन्ध हटाउन राज्यले रणनीति चाल्नु पर्ने बताइन् । कार्यक्रममा एक्सनएडका राष्ट्रिय निर्देशक विमल फुयाँलले भेदभाव र लिंगभेद जस्ता कुराहरू मानव निर्मित भएकाले यसलाई मानिसले नै हटाउन सक्ने बताउँदै अबको आन्दोलन पितृ सत्तालाई भत्काएर मातृ सत्ता उभ्याउने नभई सबैलाई स्वीकार्य हुने र सबैको भलो हुने संस्कारको स्थापना गर्न सबैका लागि सबैको हातेमालो आवश्यक भएको जिकिर गरे ।
कार्यक्रममा नेपाल राष्ट्रिय अपांग महासंघका महासचिव टीका दाहाल, वादी महिला मुक्ति आन्दोलनकी अगुवा उमा वादी, नजबुल खानसमेतले विचार व्यक्त गरेका थिए ।
सम्मेलनको पहिलो दिन विभिन्न नौवटा कार्यपत्र एवं त्यसमाथि विचारात्तेजक समूह छलफल भएको थियो । डा. शेरा तामाङको ‘राष्ट्र, राष्ट्रियता र नागरिक’, डा. मीना आचार्यको ‘सरकारी आर्थिक नीति र महिला’, पुष्पा घिमिरेको ‘नेपालको अर्थतन्त्रमा महिलाको योगदान’ विषयक बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत भएको थियो । यसैगरी, निर्मला ढुंगाना र राजेन मानन्धरले ‘फन्डामेन्टालिज्म, धर्म संस्कृतिको पुनर्परिभाषा’, दुर्गा घिमिरेले ‘नेपालमा महिलाको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थामा धर्मले पारेको प्रभाव’, इन्दु तुलाधर र विन्दा मगरले ‘लोकतान्त्रिक रूपान्तरणका आयाम, नेपाली सन्दर्भमा शक्ति, कानुन र नीति निर्माण’, दिप्ती खकुरेल र मञ्जु थापाले ‘राजनीतिक नेतृत्वमा महिलाको पहुँच’ तथा डा. सुधा त्रिपाठीले ‘साहित्य र महिलावादी आन्दोलन’, डा. डिना बाङ्देलले ‘कला र महिलावादी आन्दोलन’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यपत्रमाथि सिके लाल, डा. प्रभा कैनी, डा. रमेश ढुंगेल, रोशनी प्रधान, शशी अधिकारी, सलोनी सिंह, अर्चना थापा र झलक सुवेदीले टिप्पणी गरेका थिए भने आरती चटौत, डा. ज्ञानु पाण्डे, मीरा ढुंगाना, लक्ष्मी कार्की, झलक सुवेदी र संगीता लामाले सहजीकरण गरेका थिए ।
त्यसअघि सम्मेलनको विविध (वादी समुदाय, अपांता भएका, मुस्लिम, बेचबिखनबाट प्रभावित, प्राज्ञिक) क्षेत्रका महिलाहरूले कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गरेका थिए । समाजका विभिन्न क्षेत्रमा कार्यरत राजधानीसमेत ३० जिल्लाका दुई सय ७५ महिला अधिकारवादी, अभियन्ता तथा लेखकहरूको सहभागिता छ । उद्घाटन सत्रमा कलाकार अस्मिना रञ्जितको नेतृत्वमा अन्य ११ जना कलाकारद्वारा ‘स्त्रैण शक्तिको सम्मान’ शीर्षक कला प्रस्तुत गरिएको थियो । यस प्रस्तुतिले महिला, शरीर र महिला यौनिकताको राजनीति नेपाल समेतका पितृ सत्तात्मक समाजमा अझै पनि कसरी वर्जित सवालका रूपमा रहेका छन् भन्ने प्रतिविम्बित गरेको थियो ।
प्रतिक्रिया