इलामलाई स्थापित गर्न अभियान सञ्चालन

धरान : विश्व पर्यटन दिवसको अवसरमा सुनसरी र मोरङमा रहेका इलामवासीहरूले इलामको पर्यटनलाई टेवा पुर्‍याउन एक इलामेली एक पर्यटक अभियान सुरु गर्ने भएका छन् ।
धरानमा भएको इलामेलीको एक भेलाले इलामलाई पूर्वको मुख्य पर्यटन केन्द्रको रूपमा विकास गर्न इलामबाहिर बसेका इलामेलीले यस्तो अभियान गर्ने निर्णय गरेका हुन् । अभियानअन्तर्गत इलामबाहिर बसोबास गरिरहेका इलामेलीहरू प्रत्येक कम्तीमा एक पर्यटक इलाम पुग्नुपर्नेछ । दसैँतिहारको बिदालगायत अन्य बिदा मनाउने पर्यटकीय गन्तव्यको रूपमा इलामलाई स्थापित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गर्ने भेलाले निर्णय गरेको छ ।
त्यस्तै, प्रत्येकले आ–आफ्ना घर प्रतिष्ठानमा सबैले देख्ने गरी इलामको फोटो वा चिनो राख्ने, इलामको पर्यटकीय महत्त्वलाई प्रबद्र्धन गर्ने खालका गतिविधि गर्ने भेलाका सहभागीले प्रतिबद्धता व्यक्त गरेका छन् । यसका लागि सेछ ट्राभलिङ धरानलाई आधिकारिक टुर अपरेटर तोकिएको छ ।
इलामबाट उपचारका लागि बिपी प्रतिष्ठान धरान आउने बिरामीको सहायताका लागि गजेन्द्र मुखियाको संयोजकत्वमा सहयोग समितिसमेत निर्माण गरिएको छ । उपचारमा समस्या परेमा, रगतको अभाव, एम्बुलेन्स वा शव वाहनको आवश्यकता परेमा सहयोग गर्ने इलाम सुनसरी मोरंङ सरोकार समितिका संयोजक कृष्ण शाहले बताए ।
इलामका कृषि उत्पादनलाई धरानमा सहजरूपमा उपलब्ध गराउन इलाम कोसेली घर स्थापना गर्ने निर्णय पनि गरिएको शाहले जानकारी दिए । इलामेली महिलाहरूलाई कोसेली घर स्थापना र सञ्चालनका लागि प्रोत्साहन गरिनेछ । यसक्रममा इलामेली महिलाहरूलाई संगठित गर्न यशोदा कायस्थको संयोजकत्वमा महिला भेला आयोजक समिति गठन गरिएको छ । आगामी मंसिरमा बृहत् वनभोजको आयोजना गरी भेलालाई पूर्णता दिइनेछ ।

प्रतिक्रिया