ज्यान गएपछि मेडिकल कलेजमा तोडफोड

Chitwan Medical Collageचितवन, १६ असोज । उपचार गर्नका लागि जिल्ला सदरमुकाम भरतपुर ल्याइएका एक बिरामीको चिकित्सकको लापरबाहीले मृत्यु भएपछि  आक्रोशित आफन्तले चिवतन मेडिकल कलेज, भरतपुरमा तोडफोड गरी क्षति पुर्‍याएका छन् ।

जुटपानी–३ का ५५ वर्षीय छविलाल लम्सालको मंगलबार मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेर क्षति पुर्‍याएका थिए । गाउँबाट तीनवटा टयाक्टरमा आएका आफन्त र स्थानीय युवाको समूहले अस्पतालमा आक्रमण गरेको प्रहरी नायव उपरीक्षक सञ्जय राउतले बताए ।
लम्साल १० असोजमा मिर्गौला उपचारका लागि १० किलोमिटर टाढाबाट आफँ साइकल चलाएर अस्पताल आएका थिए ।
लम्सालको मृत्युपछि आफन्त र अस्पताल प्रशासनबीच छलफल भइरहेका बेला आफन्तकै अर्को समूहले अस्पतालमा तोडफोड गरेका हुन् ।
आक्रोशित आफन्तले अस्पतालको अगाडिका सिसा फोडिदिएका थिए । तोफडफोड सुरु भएपछि तत्काल प्रहरीलाई खबर गरिएको र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
लम्सालको असोज–११ गते शल्यक्रिया भएको थियो । शल्यक्रिया भए पनि लम्साललाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको अस्पतालको भनाइ छ । आफन्तले भने शल्यक्रियापछि लम्सालको होस नआएकोले उनको मृत्यु भएको दाबी गरेका छन् ।
प्रहरीले अस्पतालमा तोडफोडमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जुटपानीका राजु राई, तुलबहादुर मगर र उमेश मुक्तान छन् ।
मृतकका आफन्तले परिवारका एक जना सदस्यलाई रोजगारी दिनु पर्ने, उपचारमा संलग्न डा. सञ्जीव गुप्ताको लाइसेन्स खारेज गर्नुपर्ने, क्रियाखर्च दिनुपर्नेलगायतका माग राखेका छन् ।

प्रतिक्रिया