कांग्रेस कार्यालयमा नाराबाजी

Nepali Congressकाठमाडौं, १५ असोज । टिकटको विषयमा असन्तुष्ट कांग्रेस कार्यकर्ताले सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आक्रोश पोखेका छन् । पार्टी कार्यालयभित्र कांग्रेस संसदीय समितिको बैठक बसिरहेका बेला नेता शेरबहादुर देउवानिकट कार्यकर्ताले नेतृत्वविरुद्ध नाराबाजी गरेका हुन् ।

धनुषा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाउने नेताको विषयलाई लिएर महेन्द्र यादव समूहका नेता तथा कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए । प्रदर्शनकारीले महेन्द्रलाई नै उम्मेदवार चयन गर्नुपर्ने माग गरेका थिए । प्रदर्शनको नेतृत्व ट्ेरड युनियन कांग्रेसको राजनीति गर्दै आएका रामपल्टन साहले गरेका थिए ।
धनुषा–५ बाट राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादवलाई समितिले टिकट दिने अन्तिम तयारी गरेपछि महेन्द्रका समर्थक पार्टी कार्यालय घेराउ गर्न पुगेका हुन् । चन्द्रमोहनलाई टिकट दिलाउन राष्ट्रपति डा. यादवले दबाब दिएको प्रदर्शनकारीको आरोप छ ।
समितिको बैठक चार दिनदेखि पार्टी कार्यालय सानेपामा बस्दै आएको छ । समितिले टिकट दिएका नेता र उम्मेदवारको नाम सार्वजनिक गरेको छैन । कांग्रेसले सोमबारसम्म प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सार्वजनिक गर्ने बताएको थियो । झन्डै दर्जन जिल्लामा विवाद साम्य हुन नसकेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्न नसकिएको एक सदस्यले बताए ।
पार्टी कार्यालयमा केन्द्रीय सदस्य शंकर भण्डारीका समर्थकले पनि तनहुँको १ नम्बर क्षेत्रबाट उनैलाई टिकट दिनुपर्ने माग गरेका छन् । उनीहरूले गोविन्दराज जोशीलाई टिकट दिइए पार्टीले पराजय भोग्नुपर्ने दाबी गरे । पार्टी कार्यालय पुगेका नेता जोशी आफूविरुद्ध भण्डारीका सामर्थकहरूले नाराबाजी गरेको देखेपछि फिर्ता भएका थिए ।
भण्डारीका समर्थकले भ्रष्टाचार मुद्दा खेपिरहेका जोशीलाई कुनै पनि हालतमा टिकट दिनु नहुने माग गरे । केन्द्रीय सदस्य भण्डारी केन्द्रीय सदस्य खुमबहादुर खड्कानिकट मानिन्छन् ।
पत्रकारमाथि आक्रमण प्रयास
भण्डारीका समर्थकले आफूहरूको पक्षमा समाचार नलेखेको भन्दै अन्नपूर्ण दैनिकका पत्रकार गोविन्द परियारलाई आक्रमणको प्रयाससमेत गरेका थिए । उनीहरूले जोशीको पक्षमा मात्रै समाचार लेखेको भन्दै आक्रोश व्यक्त गरेको प्रत्यक्षदर्शीले बताए ।

प्रतिक्रिया