एमालेमा उम्मेदवारको टुंगो

umlकाठमाडौं, १५ असोज । एमालेले संविधानसभाको दोस्रो चुनावका लागि सबै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ ।

गोकर्णमा सोमबार बेलुका बसेको स्थायी कमिटी बैठकले सबै क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको एमालेका कानुन तथा निर्वाचन क्षेत्रका प्रमुख अग्नि खरेलले जानकारी दिए । आइतबारको बैठकले झन्डै ९० उम्मेदवारको टुंगो लगाएको थियो । एमालेले अघिल्लो चुनाव जितेका र निकटतम प्रतिद्वन्द्वीलाई आगामी चुनावमा त्यही क्षेत्रबाट टिकट दिने नयाँ मापदण्डअनुसार उम्मेदवार छनोट गरेको हो । उक्त मापदण्डको विरोधसमेत भएको छ । उम्मेदवार छनोट प्रक्रियाविरुद्ध रहेका उनीहरूले केही व्यक्तिले पार्टीलाई बिर्ता ठानेको आरोप लगाएका छन् । ‘केही व्यक्तिले पार्टीलाई आफ्नो बिर्ता बनाएका छन्,’ एक पोलिटब्युरो सदस्यले भने, ‘यसरी पार्टी चलाउने हो भने चुनावमा एमालेले नराम्रो पराजय भोग्नुपर्ने हुन्छ ।’
एमालेले आइतबार दुर्गम, हिमाली, पहाडी र यातायातको सुविधा नभएका क्षेत्रको उम्मेदवार छनोट गरेको थियो । सोमबारको बैठकले सबै उम्मेदवारको नाम तय गरे पनि मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ ।
स्रोतका अनुसार झापा–१ मा रविन कोइराला, २ मा पवित्रा निरौला, ३ मा वसन्त बानियाँ, ४ मा प्रेम गिरी, ५ मा एलपी साँवा, ६ मा दीपक कार्की र ७ मा केपी शर्मा ओलीले टिकट पाएका छन् ।
त्यस्तै, इलाम–१ मा झलनाथ खनाल र २ मा सुवास नेम्वाङ उठ्ने भएका छन् । रामेछाप–१ मा कमल सुनुवार र २ मा कैलाश ढुंगेल, काठमाडौं–१ मा विदुर मैनाली, २ मा माधवकुमार नेपाल, ३ मा रामेश्वर फुयाल, ४ मा निर्मल कुइँकेल, ५ मा ईश्वर पोख्रेल, ६ मा योगेश भट्टराई, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठ र १० मा रामकृष्ण दुवाललाई टिकट दिएको स्रोतले बताएको छ । त्यसैगरी, ललितपुर १ मा मधुसुदन पौडेल, २ मा कृष्णलाल महर्जन र ३ मा रघुजी पन्त उठ्ने भएका छन् । भक्तपुर १ मा मोहनवीर बस्नेत र २ मा महेश बस्नेतले टिकट पाएका छन् । त्यसैगरी बारा ६ मा पुरुषोत्तम पौडेलले टिकट पाएका छन् । नारायाणी, दोलाखालगायत ११ जिल्लाको २० सीटमा भने विवाद रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया