काठमाडौं, १५ असोज । निर्वाचन आयोगमा संविधानसभा चुनावका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन १ सय २४ वटा दलले निवेदन दिएका छन् ।
आयोगले सार्वजनिक गरेको चुनावी कार्यतालिकाअनुसार सोमबार ती दलले समानुपातिकतर्फ भाग लिन निवेदन दिएका हुन् । ‘हामीले १ सय २४ दलको निवेदन बुझ्यौँ,’ आयोग प्रवक्ता वीरबहादुर राईले भने, ‘अन्तिम नामावली मंगलबार प्रकाशन गर्छौं ।’ उक्त संख्यामा केही हेरफेर हुनसक्ने राईले जानकारी दिए ।
आयोगमा चुनावका लागि दल दर्ता गराउने राजनीतिक दलको संख्या १ सय ३० छ । चुनाव बहिष्कारको आन्दोलनमा रहेको नेकपा–माओवादी नेतृत्वको मोर्चामा आबद्ध केही दल पनि सोमबार आयोगमा समानुपातिकमा भाग लिनका लागि निवेदन दिन पुगेका थिए । समानुपा ितकतर्फ भाग लिने दलले १० हजार धरौटी बुझाएर निवेदन दिन पाउँछन् । नेकपा–माओवादीलगायत केही दलले भने दल दर्ता गराएका छैनन् ।
आयोगले पछिल्लोपटक सार्वजनिक गरेको चुनावी तालिकाअनुसार दलहरूलाई समानुपातिकतर्फमा भाग लिनका लागि निवेदन दिने म्याद १४ असोजलाई दिएको थियो । आयोगको पूर्वप्रकाशित कार्यक्रमअनुसार समानुपातिकमा भाग लिने दलहरूले ७ असोजमै निवेदन दिनुपर्ने र ११ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने कार्यक्रम थियो । आयोगले चुनावी कार्यक्रम एक सातापछि सारेको थियो । आयोगले पछिल्लोपटक प्रकाशित गरेको कार्यक्रमअनुसार सोमबार निवेदन दिएका दलले समानुपातिक क्षेत्रका उम्मेदवारको बन्दसूची १८ गते पेस गर्न पाउँछन् । प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन १७ गते गर्नुपर्नेछ ।
समानुपातिकमा भाग लिन पेस गरेका दलको नामावली आयोगले १५ गते प्रकाशन गर्नेछ ।
त्यसैगरी, १८ गतेसम्ममा आयोगले समानुपातिकमा भाग लिने दलको अन्तिम नामावली प्रकाशन गर्ने तथा चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका बनाएको छ । ‘समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीलाई आयोगले कात्तिक ६ गते सार्वजनिक गर्ने कार्यक्रम छ,’ राईले भने ।
त्यसैगरी, आयोगले १७ गते प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची १८ गते प्रकाशन गर्ने कार्यक्रम छ । प्रत्यक्षतर्फका उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम आयोगले १९ असोजलाई दिएको छ । त्यसैगरी, प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली २३ असोजमा प्रकाशन गर्ने र २४ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया