सरकारद्वारा फिर्ता जग्गामा दलालको चलखेल

Babarmahalकाठमाडौं, १५ असोज । पञ्चायतविरुद्ध गतिविधि गरेको अभियोगमा जफत सम्पत्ति सरकारले फिर्ताको निर्णय गरिसके पनि सम्बन्धित परिवारले पाउन सकेको छैन । बबरमहलका भरत शमशेरको जफत जग्गा सरकारले २३ वर्षअघि फिर्ता गर्ने निर्णय गरेको थियो । जमिन फिर्ता दिने निर्णय भए पनि केही दलालले गैरकानुनी रूपमा खरिद–बिक्री गरेको पाइएको छ ।

पचायती व्यवस्थाविरुद्ध लागेको अभियोगमा तत्कालीन सरकारले राजद्रोहको अभियोगमा उनको सम्पत्ति जफत गरेको थियो । २०१८ साल चैतमा गृह मन्त्रालयले विषेश परिस्थिति नियन्त्रण ऐन २०१७ को अधिकार प्रयोग गरी सम्पत्ति जफत गरेको सूचना राजपत्रमा प्रकाशन गरेको थियो । उक्त निर्णय बदर गर्दै १४ जेठ ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले जफत सम्पत्ति फिर्ता दिने निर्णय गरेको थियो । निर्णय राजपत्रमा प्रकाशन गरे पनि शमशेर परिवारले जग्गा अहिलेसम्म पाउन सकेको छैन । बबरमहलस्थित हाल सरकारी कार्यालयहरू रहेको शमशेरको २ सय ७१ रोपनी जग्गा जफत गरिएको थियो ।
प्रजातन्त्रपछि बनेका अधिकांश सरकारले उक्त जग्गा र सम्पत्ति फिर्ता गर्ने तथा सरकारी कार्यालय रहेको जमिनको सट्टा अन्त कतै मुआब्जा दिने निर्णय गरेका थिए । उक्त जग्गामा सरकारी कार्यालयहरु भएको हुँदा र आफूहरूसँग राजनीतिक प्रतिशोध भएकाले तत्कालीन प्रशासनले अशिंयारको जग्गा छुट्टयाई भोगचलन गर्न नदिएको शमशेर परिवारको गुनासो छ ।
भट्टराई सरकारले जग्गा फिर्ता गर्न स्थानीय प्रशासनलाई पटकपटक निर्देशन दिए पनि कार्यान्वयन नभएको उनीहरू बताउँछन् । तत्कालीन सरकारले गरेको निर्णयमा सरकारको अधीनमा रहेको सम्पत्ति तुरुन्तै फिर्ता दिने र सरकारबाट अन्यत्र स्वामित्व हस्तान्तरण भएको अवस्थामा उक्त प्रक्रिया अघि बढाउने निर्णय भएको छ । सम्पत्ति फिर्ता गर्ने सरकारको निर्णयपछि शमशेर र उनका अशिंयारले घरजग्गा र अन्य सम्पत्ति फिर्ताका लागि फरक–फरक निवेदन दिएका थिए ।
शमशेरपत्नी उमा राणा र छोरा नन्द शमशेर राणाको संयुक्त निवेदनको हकमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले ३ पुस २०५३ मास निर्णय गर्दै बबरमहलमा रहेको १० रोपनी जग्गा र त्यसमा बनेका घरटहरासमेत फिर्ता दिने तथा बाँकीको हकमा मुआब्जा दिने प्रस्ताव पेस भए पनि सरकार परिवर्तनपछि उक्त निर्णय कार्यान्वयन हुन सकेन ।
उक्त जग्गा कब्जा गर्नुअघि तत्कालीन काठमाडौं फौज्दारी तहसिल अड्डा र मेजिस्ट्रेट अफिस काठमाडौंले उनका बुबा मृगेन्द्रसँग पनि बयान लिएको स्रोतले बताएको छ । उनीसँगको बयानपछि भरतको ४० रोपनी जग्गासहित करिब २ सय ७२ रोपनी जग्गा जफत गरेको थियो । भरतको अशिंयारहरूमा उनकी श्रीमती उमा र छोरा नन्द शमशेर मात्र भएको उल्लेख छ ।
स्रोतका अनुसार हाल कलकत्तामा रहेका भरतको सहयोगमा जग्गा दलालहरूले जग्गा सरकारले फिर्ता गरिसकेको भन्दै सर्वसाधारणबाट करौडौँ बैना बुझिसकेका छन् । उनीहरूको नाममा प्रहरीकहाँ उजुरीसमेत परे पनि उनीहरू पक्राउ पर्न नसकेको स्रोत बताउँछ । (फाईल तस्विर)

प्रतिक्रिया