एमाओवादीमा उम्मेदवारको टुंगो

maobadiकाठमाडौं, १५ असोज । एकीकृत नेकपा माओवादीले थप ४० भन्दा बढी क्षेत्रको उम्मेदवारको टुंगो लगाएको छ । आइतबार ४० क्षेत्रको टुंगो लगाएको एमाओवादीले आज वा भोलि नै सबै क्षेत्रको टुंगो लगाउने भएको छ ।

एमाओवादी केन्द्रीय कार्यालय र उम्मेदवार छनोट समितिको सोमबार राति अबेरसम्म अध्यक्ष निवास लाजिम्पाटमा बसेको बैठकले लिम्बुवान, किरात, थारुवान् र कोचिला राज्यको टुंगो लगाएको उम्मेदवार छनोट समितिका सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए । ओखलढुंगा र धनकुटाको भने टुंगो लाग्न बाँकी छ ।
एमाओवादीले उम्मेदवार छनोटको काम अन्तिम चरणमा पुगेको भन्दै आज बिहानैदेखि बैठक बसेर टुंगोमा पुर्‍याउने बताएको छ । नेता पोखरेलका अनुसार धादिङ र नुवाकोटमा पनि उम्मेदवारको टुंगो लागे पनि यसबाहेक ताम्सालिङ, नेवा र मधेसमा भने उम्मेदवारको टुंगो लाग्न बाँकी छ ।
अबेरसम्म बसेको बैठकमा वरिष्ठ नेता नारायणकाजीको क्षेत्रको विषयमा भने छलफल नै नभएको नेता पोखरेलले सौर्यलाई बताए ।
टुंगो लागेका जिल्लामा नुवाकोट, धादिङ, गोर्खा, सुनसरी, झापा, मोरङ, रुकुम, रोल्पा, सल्यान र प्युठान छन् । एमाओवादीका प्रमुख नेतामा गोर्खा–२ बाट डा. बाबुराम भट्टराई, रोल्पा–१ बाट कृष्णबहादुर महरा तथा रुकुम–१ बाट जनार्दन शर्मा उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया