काठमाडौं, १४ असोज । आयल निगमका कर्मचारीले बाँडिएको बोनस फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । कर्मचारीले निगमका उच्च अधिकारीलाई रिहा गरेपछि आफूहरूले बोनस फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन् । आइतबार तीनै कर्मचारी संगठनहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निगमका अधिकारीलाई रिहा गरे बोनस फिर्ता गर्न तयार रहेको बताएका छन् ।
अख्तियारले सञ्चित घाटामा रहेको संस्थानले बोनस बाड्न थालेपछि निगमका उच्च अधिकारीहरूलाई नियन्त्रणमा लिएको थियो । निगमले आर्थिक वर्ष ०६५/६६ मा कमाएको नाफाबाट १९ करोड ८८ लाख रुपियाँ बोनस बाडेको थियो । यद्यपि निगम अहिलेसम्म २५ अर्ब सञ्चित घाटामा छ । उनीहरूले अख्तियारलाई लेखेको पत्रमा बोनस खुवाएकै कारण उच्च अधिकारीहरूलाई गिरफ्तार गरिएकाले बोनस खानु उचित नभएको उल्लेख गरेका छन् । पत्रमा लेखिएको छ : ‘बोनस वितरणकै कारणले हिरासतमा लिइएका उच्च अधिकारीहरू रिहा हुनुहुन्छ भने उहाँहरूलाई हिरासतमा राखेर बोनस खाइरहनु हामीलाई उचित लागेन ।’
यसअघि अख्तियारको आग्रहमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमलाई सञ्चित घाटा पूर्ति नहुन्जेल बोनस वितरणमा रोक लगाउन निर्देशन दिएको थियो । त्यसपछि सञ्चालक समितिले पनि बोनस वितरण नगर्ने निर्णय गर्यो । तर, कर्मचारीको आन्दोलनका कारण निगम बोनस बाँड्न बाध्य बनेको थियो ।
निगम स्वतन्त्र कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन र निगम कर्मचारी संघका अध्यक्षले अख्तियारबाट पक्राउ गरिएका उच्च अधिकारीलाई छाडे आफूहरूले बोनस फिर्ता गर्ने जनाएका छन् । उनीहरूले खाएको बोनस फिर्ता गरेर पछि कानुनी उपचार खोज्नेसमेत अख्तियारलाई आग्रह गरेका छन् । अख्तियारले बोनस वितरणको भौचरमा हस्ताक्षर गर्ने चार उच्च अधिकारी र एक कर्मचारी संघ अध्यक्षलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया