महोत्तरी : जिल्ला अदालत महोत्तरीले महिलालाई बोक्सी भन्दै मानव मलमूत्र खुवाएको अभियोगमा एकजनालाई जेल चलान गरेको छ ।
शुक्रबार जेल चलान हुनेमा जलेश्वर नगरपालिका–४ बस्ने बिकरू पासवान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जेल चलान हुने पासवानले २०५२ साल जेठ २५ गतेको दिन आफ्नै वडाकी एक सिंह थरकी महिलालाई बोक्सी भन्दै मानव मलमूत्र खुवाएकोमा निजमाथि पीडितले किटानी मुद्दा गरेपछि जिल्ला प्रशासन, पुनरावेदन अदालत र अन्त्यमा २०५५ साल असार २४ गतेका दिन सर्वोच्च अदालतले निजलाई तीन महिनाको कैद तोकेको थियो ।
पासवानलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले समातेर जिल्ला अदालतमा बुझाएपछि अदालतले तुरुन्त पासवानलाई जलेश्वर कारागारमा पठाएको थियो । जेल चलान हुने पासवान नेकपा–माओवादी वैद्य समूहका महोत्तरी जिल्ला क्षेत्र नं ३ का सेक्रेटरी र जलेश्वर नगर इन्चार्ज रहेका छन् । प्रहरीले बोक्सी काण्डमा सजाय पाएका पासवानलाई घटनाको १८ वर्ष र सजाय सुनाइएको १५ वर्षपछि पक्राउ गरी जेल पठाएको हो ।
प्रतिक्रिया