यतानापछि हत्या गरेको स्वीकार

Hatyaraदोलखा,१४ असोज । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत टिपर चालक नारायण थापा मगरलाई निर्मतापूर्वक यतानापछि हत्या गरेको पाँच जना अभियुक्तले स्वीकारेका छन् ।

लामावगरस्थित आयोजनाको ठेकेदार चाइनिज कम्पनी सिनो हाइड्रोमा कार्यरत पाँच जना मिलेर आफ्नै साथी मगरको हत्या गरेको स्वीकारेका हुन् ।
कम्पनीको टिपर चालक ३० वर्षीय नारायणको केही हप्ता अगाडि आयोजनास्थल लामावगरमा रातको समयमा हत्या भएको थियो । साथीहरूले कुटेर बेहोस उनलाई तरकारी काट्ने छुरी रोपिदिएर हत्या गरिएको थियो । प्रहरीले बिहीबार लामाबगर नजिकबाट बसमा जढेर भाग्न लागेका अभियेक्तलाई पक्राउ गर्न सफल भएको थियो । नारायणको दाहिने करङबाट धसिएको छुराले फोक्सो र कलेजोसमेत छेडेको पोस्टमार्टमको क्रममा देखिएको छ । नारायणलाई यातनापूर्वक कुटपीट गरेर ढालेपछि चार जना साथीले बोलाएर किशोरलाई छुरा रोप्ने वातावरण मिलाएको प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।
सेना, सशस्त्र र जनपद प्रहरीको सुरक्षा घेरामा रहेको राष्ट्रिय गौरवको तामाकोसी आयोजनाभित्र भएको घटनालाई प्रहरीले कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाएर अनुसन्धान थालेको छ । प्रहरी स्रोतका अनुसार अभियुक्तहरू भीमेश्वर नगरका ओमशरण थापा र रमेश केसी, बोचका रामचन्द्र कार्की र दीलिप खत्रीले अपराध स्वीकारेका छन् । आफूहरूले कुटपीट गरेको तर किशोरले छुरा प्रहार गरेको चारै जनाले बताए ।
प्रहरीले घटनाको योजनाकार रामचन्द्र भएको खुलासा गरेको छ । रामचन्द्र कम्पनीको तर्फबाट सेनाको गाडी चालक भएको हुँदा टिपर चालक नारायणसँग रिसिवी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रामचन्द्रको योजनाअनुसार हत्या गर्ने मनसायले आक्रमण र छुरा प्रहार भएको प्रहरीले जानकारी दिए । हत्यापछि फरारमध्ये चार जनालाई घटनालगत्तै र किशोरलाई बिहीबार पक्राउ गरेको हो । किशोरले छुरा खोलामा फालेको बताए । अभियुक्तहरूबाट प्रहरीले रगत लतपतिएको कपडा, टिटी, कम्पनीको परिचय पत्र, नागरिकतासमेत बरामद गरेको छ ।
मृतकको परिवारलाई मजदुरको सहयोग
दोलखा : रामेछाप घर भएका नारायणका २३ वर्षीया पत्नी शान्ति र नाबालक छोराका लागि मजदुरको तर्फबाट एक दिनको तलब संकलन गरेर सहयोग गरेका छन् । इमान्दार चालक निधन भएकोमा दु:ख व्यक्त गर्दै सिनो हाइड्रो कम्पनीका नेपाली कामदारको तर्फबाट ३ लाख ४६ हजार र चाइनिज कर्मचारीको तर्फबाट २ लाख ५६ हजार गरी ५ लाख ६० हजार सहयोग गरेको हो । संकलित रकमलाई सिनो हाइड्रो नेपाली मजदुर युनियनका नेता सोनामदोर्जे शेर्पाले जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरेका थिए । काजकिरिया सकिएपछि उक्त रकम मृतकको परिवारलाई जिम्मा लगाइने दोलखाका प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलले बताए । (सौस)

प्रतिक्रिया