धमाधम उम्मेदवार चयन

कांग्रेसले आज सार्वजनिक गर्ने
-विमल योगी

काठमाडौं, १४ असोज । कांग्रेसमा विवादका कारण संविधानसभा चुनावका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नामावली सार्वजनिक गर्न ढिलाइ भएको छ । समितिमा रहेका दुई Congress-flagखेमाको विवादले उम्मेदवार चयनमा समस्या आएको हो ।
राजधानीमा जारी कांग्रेस संसदीय समितिको बैठकमा मुलुकभरिका उम्मेदवारका विषयमा विस्तृत छलफल भइरहेको छ । कांग्रेसले आइतबार बेलुकासम्म सबै उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको थियो । यद्यपि, गृहकार्यमा ढिलाइ भएको भन्दै कांग्रेसले सोमबार मात्रै सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने जनाएको छ ।
महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारमा सिफारिस नेताहरूका विषयमा छलफल गर्ने कार्य जारी रहेकाले ढिलाइ भएको बताए । नियमिति पत्रकार सम्मेलनका क्रममा सिटौलाले भने, ‘छलफल चलिरहेको छ । भोलि (सोमबार)सम्म सबै उम्मेदवारको नाम टुंगो लगाएर सार्वजनिक गर्छौं ।’
समितिले आइतबार रातिसम्म अधिकांश क्षेत्र र जिल्लाका उम्मेदवारको नाममा छलफल चलाइसकेको छ । छलफलमा आएका उम्मेदवारका नाममध्ये तराईका केही क्षेत्रमा समस्या आएको एक सदस्यले जानकारी दिए ।
कोइरालालाई दुई क्षेत्र
कांग्रेस सभापति सुशील कोइरालालाई दुई क्षेत्रबाट उम्मेदवारी दिलाउने तयारी भएको छ । महामन्त्री सिटौलाका अनुसार चितवन ४ नम्बर क्षेत्रमा कोइरालालाई उम्मेदावर बनाउने निश्चित भएको छ । कोइराला गृहजिल्ला बाँकेबाट पनि उम्मेदवारी दिने मनस्थितिमा छन् । ‘सभापति सुशील कोइरालाज्यूलाई चितवनको क्षेत्र नम्बर चारबाट उम्मेदवार बनाउने विषयमा करिब टुंगो लागेको छ,’ सिटौलाले भने, ‘उहाँले बाँकेबाट पनि उम्मेदवारी दिने सोच बनाउनुभएको छ ।’
अघिल्लो चुनावमा कोइराला गृहजिल्लाबाट पराजित भएका थिए । उनलाई मधेसी जनअधिकार फोरम नेपालका तत्कालीन नेता सर्वदेव ओझाले हराएका थिए । ओझा पहिला कांग्रेसमै थिए । अर्को पार्टीमा रहे पनि ओझा कांग्रेसका नेता खुमबहादुर खड्काका विश्वास पात्र मानिन्छन् ।
कोइरालाले गृहजिल्लाबाट जित्नेमा ढुक्क नभएपछि अर्को क्षेत्र खोजेका हुन् ।
कांग्रेसले आफ्ना उम्मेदवारलाई टिकट दिन ढिलाइ गरेको विषयमा समितिमा रहेका सदस्यको आलोचना सुरु भएको छ । भागबन्डाका कारण समयमा टिकट वितरण गर्न नसकिएको समितिकै एक सदस्यले स्वीकार गरे । ‘नाम सिफारिस भएका नेताहरूको नाम कुनै न कुनै नेताको गोजीबाट निस्कने सूचीमा नाम हुने गर्छ,’ ती सदस्यले भने, ‘केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अनावश्यक हस्तक्षेप गरेर सूची निकाल्ने गरेका छन् ।’
समितिको बैठकमा नेता केसीले अत्यधिक नेताहरूको नाम सूची तयार पारेर प्रस्ताव गर्ने गरेको आरोप छ । यद्यपि, केसीनिकट नेताहरूले अधिकांशले टिकट पाएका छैनन् । समितिको बैठक राति पौने १० बजेसम्म जारी थियो ।
एमाओवादीमा ४० क्षेत्रको टुंगो
-टेनिस रोका

काठमाडौं । एकीकृत माओवादीले संविधानसभा चुनावका लागि प्रत्यक्षतर्फ ४० क्षेत्रबाट उठ्ने उम्मेदवारको टुंगो लगाएको छ ।
उम्मेदवार छनोट समिति र हेडक्वार्टरको आइतबार बसेको संयुक्त बैठकले प्रत्यक्षतर्फ सेती–महाकाली, भेरी–कर्णाली, तमुवान, किरात र लिम्बुवानका ४० क्षेत्रको उम्मेदवारीको टुंगो लगाएको हो । एमाओवादीका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं–१० र सिरहा–५, बाबुराम भट्टराई गोरखा–१ र रूपन्देही ४, पोस्टबहादुर बोगटी नुवाकोट–३ बाट उठ्ने भएका छन् । दाहाल अघिल्लो चुनावमा काठमाडौं–१० र रोल्पाबाट विजयी भएका थिए । भट्टराई यसअघि गोरखा–२ बाट विजयी भएकोमा उनले पनि गोरखा–१ छाडेर २ रोजेका छन् भने उनका लागि रूपन्देही नयाँ क्षेत्र थपिएको छ ।
एमाओवादीले आइतबार टुंगो लगाएको अन्य क्षेत्रमा सेती–महाकालीअन्तर्गत अछाम–१ दीपक साउद, २ झंकर रावल, बैतडी–१ नरेन्द्र कुँवर, २ मा रेणु चन्द, बझाङ–१ मा देवराज रेग्मी र २ मा हरि कुँवर, दार्चुलामा ललितसिंह ठगुन्ना डडेल्धुरामा खगराज भट्ट, बाजुरामा सहदेव बोगटी, डोटी–१ मा मोहन बम तथा क्षेत्र नम्बर २ मा लेखराज भट्ट उम्मेदवार परेका छन् ।
भेरी–कर्णालीअन्तर्गत सुर्खेत क्षेत्र नम्बर–१ मा ठम्मर विष्ट, २ मा भीमबहादुर मल्ल, ३ मा नरबहादुर विष्ट, दैलेख–१ मा तेजबहादुर चन्द, २ मा थिरबहादुर कार्की, जाजरकोट–१ मा शक्तिबहादुर बस्नेत र २ मा भक्तबहादुर शाह, डोल्पामा सत्य पहाडी, जुम्लामा गजेन्द्रबहादुर महत, मुगुमा सुकवरी बुढा र हुम्लामा छिरिङ डम्दुल लामाले टिकट पाएका छन् ।
किरातअन्तर्गत संखुवासभा–१ मा इन्द्रहाङ राई, २ मा राजेन्द्र किराती, भोजपुर–१ मा खेमराज नेपाली, २ मा सुदन राई, खोटाङ–१ मा दुर्गाजयन्ती राई, २ मा देवान राई र सोलुखुम्बुमा गोम्बु शेर्पा उम्मेदवार चयन भएका छन् । लिम्बुवानअन्तर्गत ताप्लेजुङ क्षेत्र नम्बर–१ मा सञ्चपाल मादेन, २ मा टंक आङबुहाङ तथा तमुवानमा कपिल लामाको टुंगो लागे पनि अरू क्षेत्रका उम्मेदवार चयन हुन बाँकी छ ।
एमालेले ९० उम्मेदवार तय गर्‍यो
-मोहन बास्तोला

काठमाडौं । एमालेले संविधानसभा चुनावका लागि प्रत्यक्षतर्फ ९० उम्मेदवारको नाम आइतबार सार्वजनिक गरेको छ । उक्त दलले सबै क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम सूची आइतबार सार्वजनिक गर्ने बताएको थियो । सोमबारसम्म बाँकी उम्मेदवारको नाम सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।
आइतबार राति गोकर्णमा बसेको एमाले स्थायी कमिटी बैठकले सबै क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाइसकेको भए पनि सोमबार मात्र सार्वजनिक गर्ने तयारी भएको एक नेताले जानकारी दिए । ‘सबै क्षेत्र, जिल्ला र अञ्चलको सिफारिस हुँदै केन्द्रमा आएका प्रत्यक्षतर्फका उम्मेदवारको नामावलीलाई स्थायी कमिटीले केही मापदण्ड बनाएर छनोट गरेको छ,’ एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने । छनोटमा समावेशी आधारमा महिला, जनजाति, पिछडिएको क्षेत्रलगायतलाई प्राथमिकता दिएको ज्ञवालीले बताए ।
उम्मेदवार छनोटका लागि सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा एक सातादेखि बैठक राखेको थियो । उम्मेदवार छनोटका लागि अपनाएको नयाँ मापदण्डको विरोध भएपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्न केही ढिलाइ भएको एक नेताले जानकारी दिए । उक्त मापदण्डको विरोध भएपछि उम्मेदवारको नामावलीलाई अन्तिम टुंगोमा पुर्‍याउन बैठक शनिबारदेखि गोकर्णमा बसेको थियो । अघिल्लो चुनावमा जितेका र निकटतम प्रतिद्वन्द्वीलाई आगामी चुनावमा त्यही क्षेत्रबाट टिकट दिने नयाँ मापदण्ड अपनाइएको थियो । हिमाली, पहाडी र यातायातका सुविधा नपुगेका क्षेत्रमा टिकट पठाइसकिएको नेता अग्नि खरेलले जानकारी दिए ।
एमालेले आइतबार राति सार्वजनिक गरेका उम्मेदवारमा सोलुखुम्बु–१ मा आङ्ङिमा लामा, भोजपुर–१ मा कृपासुर शेर्पा र २ मा शेरधन राई छन् । खोटाङ– १ मा पाँचकर्ण राई र २ मा विशाल भट्टराई, रुकुम–१ मा खेममान खड्का र २ मा ठगेन्द्रप्रकाश पुरी, संखुवासभा–१ बाट हेमराज घिमिरे र संखुवासभा–२ मा राजेन्द्र गौतम, दाङ–१ मा रेवतीरमण शर्मा, २ मा शान्ता चौधरी, ३ मा लक्ष्मण आचार्य, ४ मा शंकर पोख्रेल र ५ मा उत्तर ओली, प्युठान–१ मा वामदेव गौतम, २ मा हीरा केसी, रोल्पा–२ मा कुमार दसौदी, ओखलढुंगा–१ मा यज्ञराज सुनुवारले टिकट पाएका छन् । अछाम–१ मा भीम रावल, २ मा भरत साउद, ताप्लेजुङ–१ मा भुवन थेबे, २ मा डम्बरध्वज तुम्बाहाम्फे, पाँचथर–१ मा गणेश काम्बाङ र २ मा डम्बरसिंह सम्बाहाम्फे, तेह्रथुममा भवानी खड्काले टिकट पाएका छन् ।
रसुवाबाट जनार्दन ढकाल, मुस्ताङबाट चक्रमोहन गौतम र म्याग्दीबाट नवराज शर्मा उम्मेदवार बन्ने भएका छन् । दैलेख–१ मा अम्बरबहादुर थापा, बाँके–१ मा देवराज भाट र २ मा दिनेशचन्द्र यादव, ३ मा पदम धिताल र ४ मा दलबहादुर सुनुवार, कञ्चनपुर–१ मा लालबहदुर विश्वकर्मा, २ मा कृपाराम रानाभाट र ३ मा नरबहादुर धामी, कञ्चनपुर ४ मा उर्वादत्त पन्त, बैतडी–१ मा दामोदर भण्डारी र २ मा सरोज भट्टलगायत उम्मेदवारको टुंगो लागेको छ ।

प्रतिक्रिया