रेग्मीको राजीनामा पछि चुनावमा जान्छौं

Dev Gurung !काठमाडौं, १३ असोज । नेकपा–माओवादीका सचिव देब गुरुङले खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिए उनकै नेतृत्वमा चुनावमा सहभागी हुने जनाएका छन् ।
काठमाडौंमा आज (आइतबार) आयोजित कार्यक्रममा सचिव गुरुङले रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिन तयार भए वार्ता मिल्ने बताए ।
‘दोस्रो संविधानसभाको निर्वाचन गरेर संविधान निर्माण गर्नु पर्छ,’ उनले भने, ‘हामी पनि चुनावमा सहभागी हुने हो भने रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनै पर्छ ।’
उनले प्रधानन्यायाधीश पदबाट राजीनामा दिने वित्तिकै निर्वाचनमा जाने ढोका खुल्ने बताए । ‘बृहत् राष्ट्रिय सहमतिलाई प्रभावित गरेर निर्वाचनको मिति जस्तो प्राविधिक कुरामा अल्झिनु हुँदैन ।’
एमाओवादीका नेता लीलामणि पोखरेलले नेकपा–माओवादी निर्वाचनप्रति लचक भएर आएको दाबी गरे । ‘सबै दलहरुले निर्वाचनमा प्रतिबद्धता जनाए निर्वाचनको मिति सार्न सकिन्छ,’ उनले भने, ‘निर्वाचनमा प्रतिबद्धता ब्यक्त नगरी निर्वाचनको मिति मात्र सार्ने कुराले मुलुकलाई झनै अन्यौलग्रस्त बनाउँछ ।’
कांग्रेसका नेता नारायण खड्काले मंसिर महिना भित्रमै निर्वाचनमा जान नेकपा–माओवादी तयार भए रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउन दलहरुले वार्ता गर्ने बताए । उनले भने, ‘संधिवानसभाको निर्वाचन भएकाले सबैको सहभागिता हुनु पर्छ ।’
मालेका महासचिव सीपी मैनालीले द्वन्द्वका महत्वपूर्ण घटक नेकपा–माओवादी चुनावमा आउन तयार भएकाले केही कुरा तलमाथि गरेर भएपनि उसलाई निर्वाचनमा ल्याउनु पर्ने बताए । उनले मंसिरमा तयारीका कारणपनि निर्वाचन हुन नसक्ने भएकाले चैतमा सारेर नेकपा–माओवादीलाई निर्वाचनमा सहभागी गराउनु पर्ने बताए ।

प्रतिक्रिया