दैलेख, १३ असोज । एक हप्ताअघि खुला दिसामुक्त घोषणा गरिएको नारायण नगरपालिका वडा – ३ का चार टोलमा ४२ घरधुरी खुला स्थानमा शौच गर्छन् । श्रोतका अनुसार मसाडा टोल र साङखोलामा २७ धउलेमाटे र ठूलोघर टोलमा १५ घरधुरी शौचालयविहीन छन् । खुला दिसामुक्त घोषणा भए पनि ४२ घरधुरीमा अस्थाइ शौचालयसमेत नहुँदा उनीहरू खोलाखोसी, बारी तथा जंगलमै निर्भर हुने गरेका छन् ।
शौचालय निर्माणसम्पन्न नगरी हतारहतारमा जिल्लालाई नामकै लागि दिसामुक्त गर्ने परिपाटी बढेको स्थानीय प्रेम भुर्तेल बताउँछन् । उनले गाउँमा यसले राम्रो प्रभाव नपार्ने समेत बताए ।
शौचालयहरू नबन्दै नारायण नगरपालिका र स्थानीय सरसफाइ समन्वय समितिले वडालाई हतारमै खुला दिसामुक्त घोषणा गरेको हो । वडाका सम्पूर्ण टोलहरू अनुगमन नगरी हचुवाकै भरमा दिसामुक्त गरिएको छ । जसका कारण अहिले खुला स्थानमै दिसा गर्नेहरू देखिने गरेका छन् । यसले जिल्लालाई खुला दिसामुक्त घोषणा कागजमै सिमित हुन पुगेको हो । उक्त वडामा ४ सय १० घरधुरी छन् ।
जहाँत्यहीँ दिसा देखिन थालेपछि वडा कसरी खुला दिसामुक्त भयो भनेर वडा अनुगमन गर्नेलाई सोध्नुपर्ने नारायण नगरपालिका वडा सचिव विष्णुप्रसाद उपाध्यायले बताए ।
‘चर्पी बनाउने अहिलेसम्म ठेगान छैन ।’ नानपा– ३ मसाडाका एक स्थानीयले भने, हाम्रो गाउँमा खुला दिसामुक्त गरेको थाहा पाइयो तर, हामी शौचालय बनाउन नसकेर दिसापिसाबका लागि जंगलमै जाने गरेका छौँ । नगरपालिकाकै अगुवाइमा उक्त वडालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।
खुला दिसामुक्त जस्तो अभियानलाई नगरपालिकाले हचुवाका भरमा गर्नुले अन्य स्थानमा राम्रो सन्देश नदिने सरोकारवालाहरूले बताए । खुला दिसामुक्त घोषणा गर्ने प्रतिस्पर्धा निकै चुनौतीपूर्ण रहेको सरसफाइ क्षेत्रमा क्रियाशील अनुभवीहरूले जानकारी दिएका छन् । हचुवाको भरमा दिसामुक्त घोषणा गरिँदा गरिब परिवारहरू चर्पी प्रयोगबाट वञ्चित हुनुपर्ने बाध्यता छ । ‘पूर्णरूपमै चर्पी नबनाएरै खुला दिसामुक्त घोषणा गरिएको छ’ भुर्तेलले भने । यसले गाउँमा कुनै प्रभाव नहुने बरु, घोषणामा मात्र सीमित हुने जस्तो देखिन्छ ।’
प्रतिक्रिया