शिरीषले बनाए नयाँ कीर्तिमान

काठमाडौं १२ असोज । नेपाल पुलिस क्लबका शिरीष गुरूङले तेस्रो एनएसए नेपाल आइस पौडी प्रतियोगिताको खुलातर्फ पुरुष २ सय मिटर व्यक्तिगत मिड्लेमा शुक्रबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा शिरीषले निर्धारित दूरी २ मिनेट ३०.२५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान रचेका हुन् । यसअघि उक्त कीर्तिमान शैलेश राणाको नाममा थियो । उनले २ मिनेट ३१.८७ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । प्रतियोगितामा किर्तीमानी स्वर्णबाहेक शिरीषले थपतीन स्वर्ण पनि हात पारे । उनले खुलातर्फ पुरुषको १ हजार ५ सय मिटर फ्रिस्टायल २० मिनेट ५७.९७ सेकेन्ड, १ सय मिटर व्याकस्ट्रोक १ मिनेट १५.३० सेकेन्ड तथा २ सय मिटर बटरफ्लाइ २ मिनेट ३३.३२ सेकेन्डमा पूरा गर्दै थपतीन स्वर्ण जितेका हुन् । फ्रिस्टायलमा सेनाका चित्रबहादुर पौडेल दोस्रो र सेनाकै बेसन क्षेत्री तेस्रो, ब्याकस्ट्रोकमा धुम्बाराही स्विम क्लबका मिराज प्रजापति दोस्रो र जयन्तप्रकाश गुरुङ तेस्रो तथा बटरफ्लाइमा सेनाका कविन्द्र थापा दोस्रो र जयन्त तेस्रो बने । नेपालमै पहिलोपटक आयोजना गरिएको महिला खुलातर्फ १ हजार ५ सय मिटर फ्रिस्टायलमा लिंकनकी अदिती धिताल पहिलो भइन् । अदितीले २२ मिनेट ४३.८४ सेकेन्ड समय खर्चिन् । त्यस्तै, महिलाको १ सय मिटर ब्याकस्ट्रोकमा जेभियर एकेडेमीकी शिला गुरुङ १ मिनेट ३०.०० सेकेन्ड समयसाथ स्वर्ण जित्न सफल रहिन् । महिलाकै खुला ५० मिटर ब्रेस्टस्ट्रोकमा सेनाकी सोनिरा बिष्ट पहिलो भइन् । त्यसैगरी पुरुषको खुला ५० मिटर ब्रेस्टस्ट्रोकमा धुम्बाराहीका मिराज प्रजापतिले शीर्ष स्थान ओगटे । उनले ३६.३५ सेकेन्ड समय निकाले । मिराजले ५० मिटर फ्रिस्टायलमा पनि स्वर्ण चुमे । उनले २८.२६ सेकेन्ड समय खर्चे । महिलाको खुला ५० मिटर फ्रिस्टायलमा लिंकनकी सोफिया शाह ३०.५२ सेकेन्ड समयसाथ पहिलो भइन् ।

प्रतिक्रिया