प्रशासनले पिटरको खोजी गरेकोमा आपत्ति

काठमाडौं, १२ असोज । नेकपा–माओवादीले आफ्नो कार्यक्रममा बोल्ने विदेशीलाई प्रशासनले खोजिरहेको भन्दै त्यसको कडा विरोध गरेको छ ।

माओवादीले मंसिर ४ गतेको चुनाव गर्नैपर्छ भन्ने पूर्वअमिरेकी राष्ट्रपति जिम्मी कार्टर, भारतीय विदेश सचिव सुजथा सिंहका साथै युरोपियन युनियनका राजदूतहरूलाई कारबाही नै गर्ने भए गरेर देखाउन चेतावनीसमेत दिएको छ ।
असोज ८ मा दोलखाको चरिकोटमा पार्टी महासचिव रामबहादुर थापासँगै आइरिसका नागरिक पिटर टबिनले अथितिका रूपमा मन्तव्य राखेका थिए । सो क्रममा उनले कथित निर्वाचन बहिस्कार गरौँ भन्ने टिसर्ट लगाएको अवस्थामा घोषित संविधानको विरोध गरेको सञ्चारमाध्यममा खबर आएपछि प्रशासनले उनको खोजी सुरु गरेको छ ।
माओवादीले भने द रेड फ्रन्ट नामक पत्रिकाका सम्पादकसमेत भएको र उनले आफ्नो विचार राख्दा हस्तक्षेपकारी कुरा नराखे पनि सञ्चारमाध्यमले बढाईचढाई गरेको भन्दै समाचारप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका जनमैत्री संगठन इन्चार्ज डा. विष्णुहरि नेपालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अतिथिका रूपमा भाग लिई आफ्ना विचार राख्नु हस्तक्षेप नभएको उल्लेख गरेका छन् । टबिनले कुनै हस्तक्षेपकारी कुरा नबोलेको दाबीसमेत उनले गरेका छन् ।
‘हाम्रो पार्टीका थुप्रै भाइचारा संगठनहरूले हाम्रा नीति तथा कार्यक्रममा ऐक्यबद्धता (सोलिडारिटी) जाहेर गर्न पाउनु यो उहाँहरूको मौलिक हक हो,’ विज्ञप्तिमा भनिएको छ, ‘कारबाही नै गर्ने हो भने पूर्वअमिरेकी राष्ट्रपति जिम्मी कार्टर, युरोपियन युनियनअन्तर्गतका केही राजदूतहरू र भर्खरै मात्र नेपालको भ्रमण गरेर फर्किएकी भारतीय विदेश सचिव सुजथा सिंह आदिलाई सरकारले कारबाही गरोस्, जसले कुनै हालतमा पनि मंसिर ४ गतेको चुनाव गर्नुपर्छ भनी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेका छन् ।’
माओवादीले एक ७० वर्षीय वयोवृद्ध एवम् नेपाल र नेपाली जनताका अभिन्न मित्र पिटर टबिनलाई मानसिक पीडा दिएकोमा खेद प्रकटसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पिटरलाई प्रशासनले गिरफ्तार गरी कानुनी कारबाही गर्ने योजना बनाएको हो भने त्यसको भत्र्सना गर्दछ ।’

प्रतिक्रिया