तीन वर्षपछि सामान ढुवानी

बाजुर : जिल्लाको पिलुचौरमा निर्माणाधीन रहेको बढ्डीगाढ लघुजलविद्युत् आयोजनाको सामान तीन वर्षपछि ढुवानी हुँदा गाउँमा खुसियाली छाएको छ ।
यातायात असुविधाको कारण सुर्खेतको एयरपोर्टमा थन्किएको सामान तीन वर्षपछि नेपाली सेनाको हेलिकोप्टरमा ढुवानी भएपछि स्थानीय बासिन्दा निकै हर्षित बनेका हुन् । बत्ती बाल्ने सपना बोकेका स्थानीय जनता सामान ढुवानी हुन नसक्दा निराश बनेका थिए । जिल्लाका जगन्नाथ, वाई, वाधुलगायत छिमेकी गाविसलाई सेवा प्रदान गर्ने लक्ष्यका साथ उक्त लघुजलविद्युत् आयोजना निर्माण गर्न लागिएको थियो । आयोजना सुरु हँुदा घरको काम छाडी विद्युत्को काम गर्दै आएका स्थानीय सामान ढुवानी हुन नसक्दा बत्ती बाल्ने धोको अधुरै हुने आशंकामा निराश भएका थिए ।
०६५ सालबाट निर्माणकार्य सुरु गरिएको बढ्डीगाढ लघुजलविद्युत् आयोजना जनताको सक्रियतामा अन्य सम्पूर्ण काम सम्पन्न भए पनि सामान भने ढुवानी हुन सकेको थिएन । निर्माणकार्य सुरु गरिएको ५ वर्ष बितिसक्दासमेत बत्ती बाल्न नपाउँदा उपभोक्ताले घर–घरबाट पैसा जम्मा गरी सामान ढुवानी गरेको स्थानीयले बताएका छन् । उक्त आयोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँ विकास समिति, जिल्ला विकास समिति, अर्थ मन्त्रालयलगायतको चार करोड रुपियाँ लागतमा निमार्णकार्य सुरु भएको थियो । जिल्लाका तीन गाविसलाई सेवा प्रदान गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको सय किलोवाट क्षमता भएको विद्युत्ले ११ सय ९८ घरधुरीका मानिसलाई सेवा प्रदान गरिने बड्ढीगाढ लघुजलविद्युत् आयोजन निर्माण समितिका अध्यक्ष जनक विष्टले जानकारी दिए । विष्टले भने, ‘बल्ल सामान खरिद गरेको तीन वर्षपछि पिलुचौरमा सामान ढुवानी भएको छ । अब त्यहाँका जनताले उज्यालो देख्न पाउने भएका छन् । यो सबै जनताको योगदान हो, जनताले चामल किन्नका लागि जम्मा गरेको पैसासमेत सामान खरिदका लागि दिए । यदि जनताले पैसा नदिएको भए सामान अझै सुर्खेतमै थन्किने थियो ।’
आयोजनाको सामान हेलिकोप्टरबाट गाउँमा आउँदा स्थानीयले फूलमालासहित स्वागत गरेका थिए । त्यस्तै, बाजुरा जिल्लामा सहज हिँड्ने बाटो तथा यातायात असुविधाले गर्दा जिल्लाका अधिकांश योजना अलपत्र परेका छन् । (सौस)

प्रतिक्रिया