झोले विद्यालयको खोजी सुरु

रौतहट : शिक्षा विभागका उपसचिव होमनाथ पौडेलको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले जिल्लाका विभिन्न गाविसमा अनुमति लिएका तर सञ्चालनमा नरहेका नाम मात्रका ‘झोले’ विद्यालयको शिक्षा विभागले रौतहटमा अनुगमन सुरु गरेको छ ।
शैक्षिक सत्र ०६५/६६ मा जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन अनमुति लिएर वर्षमा एक महिना पनि सञ्चालन नगर्ने नाम मात्रका विद्यालयले जिसिकाबाट विभिन्न शीर्षकमा रकम निकासा लिँदै आएको गुनासो बढेपछि उक्त अनुगमन सुरु गरिएको हो ।
हथियाही, सखुअवा, धमौरा, भलोहिया, कटहरिया, बिर्ती प्रस्टोकालगायतका गाविसमा दर्ता रहेका तर सञ्चालनमा नभएका नाम मात्रका ४० भन्दा बढी प्राथमिक तहका विद्यालयलाई जिसिकाले प्रतिविद्यार्थी लगानी (पिसिएफ), राहत शिक्षक कोटा, पाठयपुस्तक, छात्रवृत्ति, विद्यालय सुधार योजना, मसलन्द, वातावरण, ब्लक भवन निर्माणलगायत शीर्षकमा २० लाख बढी निकासा दिएको छ ।
अनुगमन नै नगरी आर्थिक मिलोमतोमा जिसिकाले रकम निकासा गरेको बताइएको छ । उपसचिव पौडेलले अनुगमनपछि यथार्थ विवरण सार्वजनिक गर्ने जानकारी दिँदै भने, ‘हामी नै आश्चर्यमा परेका छौँ, विद्यालयको अवस्था देख्दा, पछि सार्वजनिक गर्ने छौ ।’
जिल्ला शिक्षा अधिकारी लक्ष्मी भट्टराईले रकम निकासा गर्दा आफूलाई नाम मात्रका विद्यालय बारेमा थाहा नभएको प्रतिक्रिया दिइन् । (सौस)

प्रतिक्रिया