आन्दोलन अब निगमका भ्रष्ट कर्मचारी बिरुद्ध

Nepal-Student-Union-1काठमाडौं, ११ असोज । पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ताको माग गरेर आन्दोलनरत १७ विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा कालो झण्डा गाडेका छन् ।
बबरमहलस्थित कार्यालयमा आज (शुक्रबार) पुगेका विद्यार्थीले कालो झण्डा गाडेका हुन् । साथै उनीहरुले ‘मूल्य बृद्धि फिर्ता गर’ भन्ने तुलपनि राखेको नेविसंघका प्रवक्ता यूपी लामिछानेका जानकारी दिए ।
‘घाटामा रहेको आयल निगमका कर्मचारीलाई बोनस खुवाउने कार्यमा पनि हाम्रो बिरोध छ,’ लामिछानेले भने, ‘अब निगमका भ्रष्ट कर्मचारीको राजीनामा माग गर्छौ ।’
सरकारले मूल्य बृद्धिको निर्णय फिर्ता नलिएर पुन: आन्दोलन घोषणा गरेर भ्रष्ट कर्मचारीलाई राजीनामा गराउन बाध्य बनाउने उनले चेतावनी दिए । ‘आन्दोलन भ्रष्ट कर्मचारी केन्द्रित हुन्छ,’ उनले भने ।
निगमले मट्टितेल, डिजेल, पेट्रोल र हवाई ईन्धनमा भारि मूल्य बृद्धि गरे पछि १७ विद्यार्थी संगठनहरु निर्णय फिर्ताको माग गरेर संयुक्त आन्दोलन गर्दै आएका छन् । सरकार र निमगले विद्यार्थी संगठनहरुको आन्दोलनलाई टेरेको छैन ।
१७ विद्यार्थी संगठनले बिहीबार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको सरकारी निवासमा पनि धर्ना दिएका थिए । (तस्विर सौजन्य: यूपी लामिछाने)

प्रतिक्रिया