विद्यार्थी संगठनहरुद्धारा १ घण्टा चक्काजाम

17 Studentकाठमाडौं, ९ असोस । पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि फिर्ताको माग राखेर आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले राजधानीमा एकघण्टा चक्काजाम गरेका छन् ।
कार्यालय समयमा आज (बुधबार) विद्यार्थी संगठनहरुले गरेको चक्का जामका कारण राजधानीको यातायात व्यवस्था केही समय अवरुद्ध भएको महानगरीय ट्राफिक कार्यालय रामशाह पथले जनाएको छ । चक्का जामका कारण यात्रुले सास्ती बेहोर्नु परेको थियो ।
राजधानीका त्रिचन्द्र, आरआर, विश्वभाषा, ल, नेपाल कमर्सलगायतका अधिकांस क्याम्पस अगाडि प्रदर्शन गरिएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । उनले बृद्धि भएको मूल्य फिर्ता नहुंदा सम्म आन्दोलन गर्ने बताए ।
‘आयल निगम घाटामा छ भनेर मूल्य बृद्धि गर्ने । सधै घाटा छ भन्ने,’ उनले भने, ‘मूल्य बृद्धि गरेर कर्मचारी मिलेर बोनस खाने ।’ निगमका कर्मचारीको गैर जिम्मेवार कार्यबाट विद्यार्थी संगठनहरु क्रुद्ध भएको लामिछानेले बताए ।
निगमले मट्टितेल, पेट्रोल, डिजेल र हवाई ईनधनमा मूल्य बृद्धि गरेपछि निर्णय फिर्ताको माग गरेर डेढ दर्जन विद्यार्थी संगठनहरु आन्दोनलमा उत्रिएका हुन् ।
नेविसंघ, दुई अखिल क्रान्तिकारी, अनेरास्ववियुलगायतका १७ विद्यार्थी संगठनले मूल्य बृद्धिको निर्णय फिर्ताको माग गरेर संयुक्त रुपमा सडक आन्दोलन गर्दै आएका छन् ।
यसैबीच, घाटामा रहेको निगममा बोनस बांडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकारी दिर्नेशकसहितका चार अधिकारीलाई नियन्त्रणमा लिएको छ । (तस्विर सौजन्य: यूपी लामिछाने)

प्रतिक्रिया